काठमाडौं, भाद्र १ । तेज नेपाल
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एक लाख ८० हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
साउन २६ गते एक भव्य समारोहका बीच औपचारिक उद्घाटन भएको एक्स्पोको समापनका दिन मात्रै ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। नाइमाले ६ दिनमा डेढ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको भए पनि अपेक्षाभन्दा ३० हजारभन्दा बढी दर्शक एक्स्पोमा सहभागी भएका हुन्।
एक्स्पोको पहिलो दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार, पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढी र समापनको दिन ३० हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेका थिए।
समापन कार्यक्रममा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, एक लाख ८० हजारभन्दा बढी दर्शकको उपस्थिति र ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोका प्रमुख उपलब्धि भएको बताइन्।
उनले एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता नभई नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता भएको बताउँदै सहभागी सबैलाई धन्यवाद दिइन्। “यो अन्त्य होइन, सुरुवात हो,” अध्यक्ष वैद्यले भनिन्, “आगामी दिनमा अझ ठूलो, अझ राम्रो र अझ बलियो भएर अघि बढ्ने हाम्रो लक्ष्य छ।”
नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा दर्शकको सहभागिता सुखद संकेत भएको बताए। उनका अनुसार नाइमा एक्स्पो सबै हिसाबले सफल भएको र यो समग्र अटोमोबाइल उद्योगकै लागि खुसीको विषय हो। त्यस्तै, अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको बताए। उनले दर्शक संख्या, इन्क्वायरी र बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको उल्लेख गरे।
नाइमाका स्ट्राटेजी एन्ड मेम्बरशिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई एक शब्दमा वर्णन गर्नुपर्दा ‘सुपरहिट’ भएको बताए।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र व्यवस्थित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको अवधारणालाई थप विस्तार गरिएको बताए। उनका अनुसार दर्शकले देखाएको सन्तुष्टि नै नाइमा एक्स्पोको सफलताको प्रमुख मापक हो।
मोबिलिटी र प्रविधिबारे विभिन्न छलफल
एक्स्पोको समापनका दिन ‘Importing Talent, Exporting Workers: Bridging Nepal’s Education, Skills and Entrepreneurship Gap’ विषयमा ‘नाइमा मोबिलिटी संवाद’ आयोजना गरिएको थियो।
संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य तथा पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेढाईं र नेपाल इन्जिनियरिङ क्याम्पसका असिस्टेन्ट प्रोफेसर लोचन केशव देवकोटा प्यानलिस्टका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सञ्जय सिलवाल गुप्ताले गरेका थिए।
एक्स्पो अवधिभर मोबिलिटी, प्रविधि, वित्त, बीमा, ब्याट्री तथा सीप विकासलगायतका विषयमा विभिन्न छलफल तथा अन्तरक्रिया आयोजना गरिएको थियो।
शनिबार ‘AI and Automotive Technology: Driving the Future of Mobility’, शुक्रबार ‘Technical: Battery Recycle and Ethanol Blending in Fuel’, बिहीबार ‘Mobilizing Mobility through Finance & Insurance’ तथा बुधबार ‘Mobility: हिजो, आज र भोलि’ विषयमा छलफल भएको थियो।
त्यस्तै, एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा समेत छलफल गरिएको थियो।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो आयोजना गरिएको हो। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
एक्स्पोमा विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि, शिक्षा, चार्जिङ, राइड, हाइड्रेसन, हस्पिटालिटी, मेडिकल, सर्भिसिङ, फायर एन्ड सेफ्टीलगायत क्षेत्रका संस्थाहरूले पनि साझेदारका रूपमा सहभागिता जनाएका थिए।
१ लाख ८० हजारभन्दा बढी दर्शकको सहभागिता र ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनुले यस वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पो नेपाली अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा उल्लेख्य प्रभाव पार्न सफल भएको आयोजकको निष्कर्ष छ।
