भक्तपुर, असोज २१ । तेज नेपाल
सूर्यविनायक नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई नगदसहित सम्मान गरेको छ।
नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा बुधबार आयोजित कार्यक्रममा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गरेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको हो।
कार्यक्रममा कराँते, भारोत्तोलन, सावाते, भलिबल, तेक्वान्दो, कबड्डी, रग्बी, हक्की, फुटबललगायत विभिन्न खेल विधाका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने वसिल तायना, रुपक कुमार विष्ट, सन्ध्या नगरकोटी, समिक्षा नगरकोटी, सञ्जु नगरकोटी, वैभवी सापकोटा, एकिन कासुला, आरती सिलवाल, प्रभुराम केसी, सन्मा मुलगुठी लगायतलाई सम्मान गरिएको छ।
त्यस्तै राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने रुपक भुजु, निरोज कार्की, विवश बासु, राम ढुङ्गाना, गंगाराम देउजा लगायतका खेलाडीलाई पनि सम्मान गरिएको कार्यक्रममा जानकारी दिइयो। शिवम केसी र पुजन हिङ्गजुलाई ग्रासरुट फुटबलतर्फ उत्कृष्ट प्रदर्शनका लागि सम्मान गरिएको छ।
कार्यक्रममा उत्कृष्ट प्रशिक्षकका रूपमा विक्रम लामा तथा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट शेरबहादुर थापा मगरलाई सम्मान गरिएको थियो। खेलकुदमा उत्कृष्ट विद्यालयका रूपमा अरनिको मा.वि.लाई समेत सम्मान गरिएको छ।
नगरपालिकाले खेलाडी तथा प्रशिक्षकको मेहनत, अनुशासन र संघर्षको सम्मान गर्दै उनीहरूको योगदानलाई आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य दिपक थापाको अध्यक्षता, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुक्ब आतिथ्यता, विशेष अतिथिमा उपप्रमुख सरिता तिम्सिना भट्टराई अतिथिमा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगर खेलकुद विकास समितिका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखेको साथै खेलकुदका लागि छुट्याइएको बजेट अपुग भएमा अन्य शीर्षकबाट रकम रकमान्तर गरेर भए पनि खेलकुदको विकास र खेलाडीको प्रोत्साहनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, नगर उपप्रमुख सरिता भट्टराईले खेल र खेलाडी राष्ट्रका गौरव भएकाले उनीहरूको मनोबल बढाएर नै राष्ट्रको पहिचान विश्वसामु झल्काउन सकिने धारणा राख्नुभयो।
कार्यक्रमको समापन गर्दै सुर्यविनायक नगपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले सम्पुर्ण सम्मानित खेलाडी, प्रशिक्षक लाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो भने सञ्चारकर्मी आफुलाई सहयोग गनुहुने सम्पुर्ण सहयोगी तथा शुभेच्छुकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र, नगद तथा मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ।
