काठमाडौं, असोज १९ । तेज नेपाल
नेपाली ट्याटु कलाकार सुमिना श्रेष्ठले तेस्रो हिमालयन ट्याटु समिट ०.३ मा विजेता बन्दै ट्याटु कलामा लगातार तेस्रो उपाधि जित्नुभएको छ। यसअघि समिटका दुई संस्करणमा समेत उपाधि जित्नुभएकी श्रेष्ठले यसपटक पनि उत्कृष्ट कला प्रस्तुत गर्दै आफ्नो वर्चस्व कायम राख्नुभएको हो।
तीन दिनसम्म सञ्चालन भएको समिटमा नेपाल र भारतका एक सयभन्दा बढी ट्याटु कलाकार सहभागी भएका थिए। सहभागी कलाकारहरूले परम्परागतदेखि आधुनिक शैलीसम्मका विभिन्न डिजाइन तथा कलाकृति प्रस्तुत गरेका थिए।
मानव शरीरलाई क्यानभासका रूपमा प्रयोग गर्दै सिर्जनात्मक कला प्रस्तुत गर्ने कलाकारहरूका लागि हिमालयन ट्याटु समिट महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको आयोजकले जनाएको छ। विभिन्न शैली, प्रविधि र सिर्जनशीलताको प्रस्तुतिले समिटलाई थप आकर्षक बनाएको थियो।
समिटमा ट्याटु बनाउन चाहनेहरूले आफूले रोजेको कलाकारसँग प्रत्यक्ष भेट गरी मनपर्ने डिजाइन बनाउन पाउने अवसरसमेत पाएका थिए। नेपाल र भारतका चर्चित तथा अनुभवी कलाकारहरू एकै स्थानमा भेला भएकाले नयाँ प्रविधि, शैली र सिर्जनात्मक अभ्यासबारे अनुभव आदानप्रदान गर्ने अवसरसमेत जुटेको थियो।
लगातार तीन संस्करणमा उपाधि जित्न सफल श्रेष्ठ नेपालकी महिला ट्याटु कलाकारका रूपमा स्थापित हुनुहुन्छ। काठमाडौंको ठमेल र सोह्रखुट्टेमा आफ्नै ट्याटु स्टुडियो सञ्चालन गर्दै आउनुभएकी श्रेष्ठले कलाप्रतिको रुचिलाई व्यवसायमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय ग्राहकसम्म आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ।
ट्याटु कलाप्रतिको निरन्तर लगाव, सिर्जनशीलता र उत्कृष्ट प्रस्तुतिका कारण श्रेष्ठ नेपाली ट्याटु क्षेत्रमा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतसमेत बन्दै जानुभएको छ।
