
काभ्रे, चैत्र १२ । तेजनेपाल
ऐतिहासिक, धार्मिक र साँस्कृतिक नगरी पनौतीमा पहिलो पटक साँस्कृतिक तथा व्यापारिक महोत्सवको आयोजना हुने भएको छ ।
“नेपाली मौलिक संस्कृतिको छुट्टै पहिचान, संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ महोत्सव आयोजना हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।पनौती उद्योग वाणिज्य संघको सहकार्य, राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपालको आयोजनासँगै पनौती नगरपालिका वडा न ७ को संरक्षकत्वमा र संयुक्त नेपाल मेला महोत्सव ग्रुपको व्यवस्थापनमा चैत २१ गतेदेखि वैशाख ३ गतेसम्म महोत्सव हुन लागेको हो ।
राम नवमी, चैते दशैं र नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना हुन लागेको यस महोत्सवले पनौतीको गौरवमय इतिहासलाई उजागर गर्दै आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ। पनौतीको कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक र हस्तकलाको जीवन्त प्रदर्शन गर्दै स्थानीय कला, संस्कृति, घरेलु उद्योग र व्यापारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य महोत्सवले राखेको छ।
महोत्सवमा कृषि उत्पादन, स्थानीय हस्तकला र घरेलु सामग्रीका आकर्षक व्यापारिक स्टलहरु रहनेछन्। बालबालिकाको मनोरञ्जनका लागि आधुनिक बालउद्यानको व्यवस्था गरिएको छ। प्रत्येक साँझ राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने यस क्षेत्रका नयाँ प्रतिभाहरुलाई पनि आफ्नो कला प्रदर्शन गर्ने अवसर प्रदान गरिने आयोजक सँस्थाका अध्यक्ष नवराज ढुङ्गाना र कोषाध्यक्ष सिम्रन दुलाल ले जान्कारी दिएका छन ।
महोत्सवलाई सफल बनाउन उद्योगी, व्यवसायी, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, संघसंस्था लगायत सम्पूर्ण पनौतीवासीलाई आयोजकले आग्रह गरेको छ । पनौतीको सांस्कृतिक वैभव र व्यापारिक सम्भावनालाई विश्वसामु चिनाउने ऐतिहासिक अवसर महोत्सवले प्रदान गर्ने पनि आयोजकको विश्वास छ ।