
भालुवाङ १६ चैत ।
दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको प्रथम साधारणसभा तथा अधिवेशन शनिबार राप्ती गाउँपालिका–३ मसुरीयामा सम्पन्न भएको छ ।

अधिवेशनले पुन दोस्रो कार्यकालका लागि अर्जुन कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् । अधिकारीकै अध्यक्षतामा २ सदस्य पछि मनोनीत गर्ने गरि १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । जस अनुसार वरिष्ठ उपाध्यक्षमा सन्तोष कुमार गुप्ता, खुल्ला उपाध्यक्षमा बलराम शाही (भिसुन), महिला उपाध्यक्षमा हुमा सुनार, महासचिवमा ओमप्रकाश गुप्ता, सचिवमा देवेन्द्रराज कंडेल (श्रीधर) र कोषाध्यक्षमा लक्ष्मी पोख्रेल निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरूमा मुक्तिराम पौडेल, लालमणी भुसाल, मोतीराम भट्टराई, निसाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका छन् । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यता एवम् नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य आशा गौतमको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थारुले पत्रकारहरूलाई सचेत र जिम्मेवार भएर कलम चलाउन आग्रह गरेका छन् । उनले सञ्चार क्षेत्रको संवेदनशीलता औंल्याउँदै निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताए । उनले भने, “पत्रकारिता समाज परिवर्तनको मुख्य आधार हो । सत्य, निष्पक्षता, र जिम्मेवारीसहित कलम चलाउनु सबै पत्रकारहरूको कर्तव्य हो ।“

उनले देउखुरी उपत्यका लुम्बिनी प्रदेशको राजधानी भएसँगै यहाँका पत्रकारहरूलाई स्थापित हुने अवसर प्राप्त भएको उल्लेख गर्दै पत्रकारिता पेशामा थप सतर्कता र अनुशासन आवश्यक रहेको बताए । “पत्रकारितामा कुनै प्रकारको पूर्वाग्रह वा दबाब हुनुहुँदैन। सत्यको पक्षमा उभिएर, समाजलाई सुसूचित गर्ने दायित्व पत्रकारहरूको हो,“ उनले थपे ।
सो अवसरमा राप्ती प्रेस मञ्चले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्यमा लोकप्रिय मतका साथ विजय भएको भन्दै मञ्चका महासचिव ओमप्रकाश गुप्तालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यस्तै वर्षाै देखि नयाँ युगबोध लगायत विभिन्न पत्रपत्रिका वितरण गर्ने पत्रिका वितरक राप्ती गाउँपालिका–१ भालुवाङ निवासी टुकबहादुर खत्रीलाई नगद र सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
सभामा वार्षिक प्रतिवेदन महासचिव ओमप्रकाश गुप्ता र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हुमा सुनारले प्रस्तुत गरेका हुन् । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको सभा उद्घाटन कार्यक्रममा नेकपा एमालेका बाबुराम गैरे, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटी अध्यक्ष रणप्रसाद पुजाली, राष्ट्रिय स्वतन्त्र पार्टी राप्ती गाउँपालिका सभापति दोर्ण जिसी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटी अध्यक्ष बाबुराम थापा, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य यमलाल कटुवाल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, राप्ती उद्योग वाणिज्य संघका महासचिव तथा राप्ती प्रेस मञ्चका उपाध्यक्ष बासुदेव न्यौपाने, सहकारी सञ्जाल राप्तीका अध्यक्ष ताराप्रसाद भुसाल, रोटरी क्लव अफ राप्तीका अध्यक्ष तपराज आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा सपथग्रहण
राप्ती प्रेस मञ्चका नवनिर्वाचित कार्यसमितिलाई शनिबार निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्नुका साथै सपथग्रहण गराएको छ । निर्वाचन समितिका संयोजक दामोदर भण्डारीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य आशा गौतमको विशेष उपस्थितिमा मञ्चका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै गोपीनियताको सपथ ग्रहण गराएको हो । निर्वाचन समितिका सदस्य तुलबहादुर कंवर मगरको स्वागतबाट सुरू भएको कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य विदुर एमसीले गरेका थिए ।