सूर्यविनायक नगर खेलकूद विकास समितिले पायो पूर्णता

भक्तपुर, भाद्र १६ । तेजनेपाल

सूर्यविनायक नगरपालिकाले गठन गरेको नगर खेलकूद विकास समितिले पूर्णता पाएको छ । नगर प्रमुख बासुदेव थापा अध्यक्ष रहने समितिमा सदस्य सचिवको जिम्मेवारी पूर्व जिल्ला खेलकूद विकास समिति अध्यक्ष दीपक थापालाई दिइएको छ।

नगर प्रमुख थापाले समितिमा अन्य सदस्यहरूको नियुक्ति गर्दै समितिलाई पूर्णता दिनुभएको हो। समितिमा विभिन्न वडाबाट प्रतिनिधित्व गरिएको छ। वडा नं. १ बाट तेक्वान्दो खेलाडी उमेश थापा मगर, वडा नं. २ बाट तेक्वान्दो खेलाडी रमेश रानामगर, वडा नं. ८ बाट भलिबल खेलाडी कृष्ण भण्डारी र वडा नं. १० बाट फुटबल खेलाडी गंगा देउजा सदस्यमा चयन हुनु भएको छ ।

यसैगरी, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडाध्यक्षहरूको प्रतिनिधित्व गर्दै वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत र महिला सदस्यतर्फबाट शर्मिला बस्नेत लम्साल समितिमा समावेश हुनु भएको छ।

नवनियुक्त सदस्य सचिव थापाले समितिको पहिलो बैठक चाँडै बसेर आगामी कार्ययोजना तय गरिने जानकारी दिनुभयो। खेल क्षेत्रमा नगरलाई सक्रिय बनाउने तथा पूर्वाधार र खेल स्तरको विकासमा समितिले महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ छ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *