
भक्तपुर, भाद्र १६ । तेजनेपाल
सूर्यविनायक नगरपालिका हर्षचोकस्थित सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले सहकारी एउटा महान संस्था हो । यो व्यक्तिसँग, व्यक्तिको भावनासँग, समुह, समाजसँग जोडेर सेवा दिन जन्मेको संस्था रहेको बताउँदै सहकारीको साधारण सभा शेयर सदस्यहरुको लागि एउटा पर्व हो उक्त सभाबाट शेयर सदस्यहरुले सहकारीको आर्थिक उन्नति, आर्थिक विवरण, र आफूले विश्वास गरेर जम्मापुँजी राखेको संस्थाको अवस्था बारे पनि थाहा पाउनु हुने जानकारी दिनुभयो । उहाँले यस सुमधुर सहकारीले शेयर सदस्यहरुको जसरी विश्वास जितेर काम गर्नुभएको छ आगामी दिनमा पनि अझ सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले आफ्ना स्थानीयबासीहरुको निमित्त वडा वडामा जेष्ठ नागरिक चौतारा निर्माण, बाल उद्यान निर्माण गरिरहेको जानकारी दिँदै नगरपालिकाले सहकारी संस्था एवं अन्य संस्थाहरुसँग समन्वय गरेर महिला उद्यमीका लागि तालिम र उद्यमी महिलाहरुको लागि आफूले बनाएका सरसामान बिक्रीवितरण गर्न हाटबजारको आयोजना गर्न लागेको हुँदा सम्पूर्ण महिला दिदीबहिनीहरुलाई सहभागिता जनाउन पनि आग्रह गर्नुभयो । कार्यक्रममा साकोसका अध्यक्ष राजकिरण खुलिमुलीले ३ जनाले देखेको सपना र उद्देश्य एवं पढेको कुरा व्यवहारमा लागु गर्न जन्माइएको संस्था जुन साथीभाइको सम्बन्धलाई सदैव कायम र सुमधुर राख्न नामाकरण गरिएको यस सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १७ औं बार्षिक साधारण सभा गर्न सफल भएकोमा हर्ष व्यक्त गर्दै शेयर सदस्यहरुले गर्नुभएको विश्वास र साथसहयोगप्रति सदैव आभार रहने बताउनुभयो । उहाँले यस सहकारीले दिइरहेको सेवालाई भविष्यमा अझ सहज र सरल रुपमा लैजाने क्रममा आइएमई एवं आइएमई रेमिट त्यस्तै आइएमई पे सेवा सुरु गरेको पनि जानकारी दिनुभयो । उहाँले यस संस्थाले हरेक वर्ष सामाजिक कार्यक्रम गर्दै आइरहेको छ र आ.व. ०८२।०८३ मा पनि रक्तदान, तालिम शिक्षा, स्वास्थ्य शिविर, धार्मिक तिर्थ यात्रा र अन्य कार्यक्रम गर्ने पनि जनाउनुभयो । कार्यक्रममा साकोसका कोषाध्यक्ष पुष्पराज भुजुले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका लेखा सदस्य मुकेश राजथलाले लेखा एवं भावी योजनाको प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट बचतकर्ता अन्तर्गत मासिक बचतकर्तामा बद्री प्रसाद बराल, मासिक बचत महिलामा शारदा दाहाल कार्की, सुपर मासिक बचतमा सरस्वती केसी, दैनिक बचतमा गंगा श्रेष्ठ, बाल बचतमा समर्पण खुलिमुली, आवधिक बचतमा शिव प्रसाद पहाडी र उत्कृष्ट कारोबारकर्तामा कुमार विश्वकर्मालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने २८ जना ज्येष्ठ नागरिक सदस्यहरुलाई खादा र नगद दिएर सम्मान गरिएको थियो । कार्यक्रममा हिन्दु महिलाहरुको महान चाड तीजको अवसरको उपहार वितरण गर्नुको साथै चिठ्ठा कार्यक्रममा प्रथम पुरस्कार प्राप्त गर्न सफल सदस्य पुकार नगरकोटी, दोस्रो राधेश्याम माकजु र तेस्रो मिना कर्माचार्य हुनुहुन्थ्यो भने सान्त्वना पुरस्कार पाउनु हुने सदस्यहरुमा चाहिँ इन्द्रप्रसाद राजथला, इन्द्रप्रसाद वाग्ले, सुक बहादुर लोकान्ती, रञ्जना घिमिरे र ऋतु राजथला हुनुहुन्थ्यो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी सहकारी शाखा प्रमुख कमला श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक थिमि शाखा प्रमुख सुनिता गौतम, नेफ्स्कुन थिमि शाखा प्रमुख राजेश खड्का, बाल अधिकारकर्मी युवराज घिमिरे, जनता साकोसका महेन्द्र राजथला, एवं सम्पूर्ण अतिथिहरुले सुमधुर साकोसले दिइरहेको सेवा एउटा उदाहरणीय रहेको बताउँदै सम्पूर्ण शेयर सदस्यहरुलाई सदस्य सक्रिय भए सहकारी सक्रिय हुन्छ र सहकारीलाई सफल पार्न सहकारीका पदाधिकारीको भन्दा पनि शेयर सदस्यहरुको ठूलो हात रहने हुँदा सहकारीको बारेमा सम्पूर्ण सदस्यहरुलाई हरेक प्रतिवेदन अध्ययन गर्न पनि आग्रह गर्नुभएको थियो । कार्यक्रम लेखासुपरिवेक्षण समिति संयोजक अनिता पाण्डेले संचालन गर्नुभएको थियो ।