“मिस्टर एण्ड मिस इस्टपोल – २०८२, सिजन १” को ‘ट्यालेन्ट राउन्ड’ सम्पन्न

काठमाडौं, भाद्र १ । तेजनेपाल

सीएस इन्टरटेनमेन्ट नेपालद्वारा आयोजित “मिस्टर एण्ड मिस इस्टपोल – २०८२, सिजन १” को ‘ट्यालेन्ट राउन्ड’ प्रतियोगिता शनिबार, पूर्वी क्षेत्रमा अवस्थित इस्टपोल स्कूलको सभाहल जोरपाटी, काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भएको थियो ।

उक्त इभेन्ट प्रतियोगितामा ५३ जना प्रतिस्पर्धी विद्यार्थीहरूले गीत, नृत्य, अभिनय, वाद्य वादन, वक्तृत्व लगायतका प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रस्तुतिहरूले इस्टपोल स्कूलको सभाहलमा उपस्थित दर्शक र सबैलाई आकर्षित बनाउदै प्रेरणादायी र उदाहरणीय सन्देश प्रवाह गर्ने माध्यम समेत बनेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूसँगै अभिभावकहरूको उपस्थितिले पनि वातावरणलाई उत्साहप्रद बनाएको थियो। अभिभावकहरूले आफ्ना बालबालिकाहरूको प्रस्तुतिमा उत्साहपूर्ण साथ दिएका थिए, जसले विद्यार्थीहरूको आत्मविश्वासमा थप उर्जा थपेको आयोजकले बताएका छन् ।

उक्त प्रतियोगिताको निर्णायक मण्डलमा लोकप्रिय युवा उपन्यासकार एवं लेखक भीष्मराज फुलारा, नेपालको पहिलो महिला पहलवान तथा कलाकार भगवती खड्का, तथा कोरियोग्राफर एवं नृत्यकार नविन गुरुङ हुनुहुन्थ्यो ।

लेखक फुलाराले विद्यार्थीहरूको प्रस्तुति प्रशंसा गर्दै भन्नुभयो, “प्रतिभा भनेको ज्ञान र अभ्यासको समिश्रण हो । नयाँ पुस्ताले देखाएको सिर्जनशीलता भविष्यलाई उज्यालो बनाउने संकेत हो ।”

महिला पहलवान खड्काले भनिन्, “संघर्ष र आत्मविश्वास जीवनका आधार हुन्। विद्यार्थीहरूले देखाएको साहसले उनीहरूको भोलि सफलतामय हुनेछ।”

कोरियोग्राफर नविन गुरुङले भने, “मञ्च केवल प्रतिस्पर्धा मात्र होइन, जीवनमा अनुशासन र सकारात्मक सोच सिक्ने अवसर हो।”

कार्यक्रमको संयोजन बहु प्रतिभा कलाकार छिरिङ शेर्पाले गर्नुभएको थियो। उहाँ डान्सिङ विथ द स्टार्स सिजन-२
की विजेता, सगरमाथा आरोही, र कालापत्थरमा ‘जमिनमा सबैभन्दा उच्च उचाइको कोरियोग्राफ गरिएको नृत्य’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने पहिलो नेपाली महिला समेत हुनुहुन्छ। शेर्पाले कार्यक्रममा भनिन्, “प्रतिभा जीवनको अमूल्य सम्पत्ति हो। यसलाई निखार्न सके, विद्यार्थीहरूले आफ्नो क्षमता पूर्ण रूपमा उजागर गर्न सक्नेछन्। हरेक विद्यार्थीले आफ्नो भित्रको क्षमता पत्ता लगाएर अघि बढ्नुपर्छ।”

आयोजकका अनुसार, ‘ट्यालेन्ट राउन्ड’ले विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको देखिन्छ । यस्तो खालको कार्यक्रमहरुले विद्यार्थीहरुलाई व्यवहारिक बनाउन पनि सहयोग गरेको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *