१२औं म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न, उत्कृष्ट मोडल्को अवार्ड अस्मिता पुरीलाई

काठमाडौं २६ जेठ । तेजनेपाल

१२ औं म्यूजिक खबर म्यूजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित कार्यक्रममा विशिष्ट गीतकार एवं चलचित्र निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरियो । माननीय मन्त्री पाण्डे, बिशिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कार्यक्रमकी संयोजक सबिता पोखरेल लगायतले ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित दोसल्ला ओढाएर विशिष्ट गीतकार खरेललाई सम्मान गरेका थिए ।
त्यस्तै कार्यक्रममा ‘म्यूजिक खबर रजत सम्मान’ बाट तिलकसिंह पेला सम्मानित भएका थिए । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबर दशक संगीत सम्मान अर्पण गरियो भने गायिका मिना लामालाई ‘म्यूजिक युवा संगीत सम्मान अर्पण गरिएको थियो । यस्तै गायिका पुजा देबकोटालाई ‘म्यूजिक खबर बालप्रतिभा सगीत सम्मान’, न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरियो । गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराईलाई म्यूजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भिर विष्टलाई म्यूजिक खबर कला सम्मान, सफला मैया राजभण्डारीलाई म्यूजिक खबर सामाजिक सेवा सम्मान र आश्विनीकान्त झालाई म्यूजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान अर्पण गरियो । त्यस्तै पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई जनही रु. ५५५५ सहित म्यूजिक खबर संगीत कला सम्मान अर्पण गरियो ।
म्यूजिक खबर अवार्डका अध्यक्ष सुमन पण्डितले अवार्डलाई सम्मानित र मर्यादित बनाउँदै लैजान सम्पूर्ण कला क्षेत्र लाग्नुपर्ने बताए । समृद्ध कला क्षेत्र बनाउन सम्पूर्ण स्रष्टा कलाकारको योगदान रहेको बताउँदै सम्पूर्ण प्रायोजक, सल्लाहकार, अतिथिहरुलाई हार्दिकताका साथ धन्यवाद ज्ञापन गरेका थिए ।
बिद्यागत रुपमा दर्जनौं स्रष्टा, सर्जकलाई अवार्ड तथा सम्मान प्रदान गरिएको कार्यक्रममा शंकर बिसी र अस्मिता पुरी लगायतकोे समूहले नृत्य प्रस्तुत गरेका थिए भने चर्चित मोडल अश्मिता पुरीले उत्कृष्ट मोडलको अवार्ड आफ्नो पक्षमा पार्न सफल भएकी थिइन ।
निर्णायकमा लोकप्रिय मोडल तथा अभिनेत सागर लम्साल ‘बले’, कोरियोग्राफर स्मृती तिमिल्सिना ‘गुरुआमा’, पत्रकार तुलसी गिरी, मोडल सबिना कार्की, गायिका देबी घर्ति र गायक राजु ढकाल रहेका थिए ।
शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमलाई पत्रकार निराजन भण्डारी र गायिका मन्जु पौडेलले सहजिकरण गरेका थिए ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *