काठमाडौं, असोज १५ । तेज नेपाल

नेपाली लोक संस्कृति र मौलिक संगीतको संरक्षण गर्दै नयाँ प्रतिभाहरूलाई व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्यका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, उपत्यका समन्वय समिति काठमाडौंले ‘संगीत प्रशिक्षण कक्षा’ सञ्चालनमा ल्याएको छ। ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ ‘समन्वय समिति संगीत प्रशिक्षण कोष को व्यवस्थापनमा यो विशेष कक्षा सुरु भएको हो।

नेपाली सुगम तथा लोक संगीत आकाशका चम्किला नक्षत्रहरू नरहरी प्रेमी, निशान चौधरी र इश्वरी प्रसाद भुषालको प्रत्यक्ष प्रशिक्षणमा प्रशिक्षार्थीहरूले संगीत सिक्न पाउने भएका छन्। प्रतिष्ठानले सार्वजनिक गरेको कार्यतालिका अनुसार विधागत प्रशिक्षणलाई छुट्याइएको छ ।

चर्चित गायक तथा संगीतकार नरहरी प्रेमीले हप्ताको दुई दिन सोमबार र बिहीबार साँझ ४ः०० बजेदेखि ५ः०० बजेसम्म हार्मोनियम तथा गायन (भोकल) को विशेष प्रशिक्षण दिनेछन् ।

यस्तै गायक तथा संगीतकार निशान चौधरीले हप्ताको पाँच दिन सोमबार, मंगलबार, बुधबार, बिहीबार र शुक्रबार दिउँसो ३ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म विस्तृत रूपमा हार्मोनियम र भोकल कक्षा सञ्चालन गर्नेछन् ।

यसैक्रममा नेपालको मौलिक लोक बाजा ‘मादल’ वादनको प्रशिक्षण गायक तथा संगीतकार एवं वाद्यवादक इश्वरी प्रसाद भुषालले दिनेछन् । भुसालले हप्ताको दुई दिन मंगलबार र शुक्रबार साँझ ४ः०० बजेदेखि ६ः ०० बजेसम्म प्रशिक्षण दिनेछन् ।

संगीत क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने नयाँ तथा इच्छुक प्रतिभाहरूलाई मध्यनजर गर्दै आयोजकले भर्ना हुने प्रशिक्षार्थीहरूका लागि ६ महिनाको विशेष छुटको व्यवस्था गरेको छ। सीमित सिट मात्र उपलब्ध भएकाले इच्छुक प्रशिक्षार्थीहरूले काठमाडौंस्थित प्रतिष्ठानको कार्यालयमा सिधै सम्पर्क गरी वा आधिकारिक सामाजिक सञ्जालमार्फत आफ्नो सिट सुरक्षित गर्न सक्ने उपत्यका समन्वय समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *