
काठमाडौं, जेठ २१ । तेजनेपाल
गायक सज्जु मानन्धरले आफ्नो गीत ‘सबैलाई छोडेर’लाई पुनः रेकर्ड गरेर दर्शकमाझ ल्याएका छन् । उनको यो गीत २५ वर्ष अघि रेकर्ड भएको थियो । डा. राजु मानन्धरले रचना गरेको यो गीतको पुरानो र नयाँ दुबैमा संगीत तथा संगीत संयोजन जुगल डंगोलको रहेको छ ।
सोमबार बेलुका काठमाडौँमा आयोजित एक समारोहमा उनको यो गीत अग्रज गीतकार–कवि दिनेश अधिकारीले सार्वजनिक गरे । यो गीतको लेखन फरक शैलीको रहेको गीतकार अधिकारीले कार्यक्रममा बताए ।
समारोहमा यो गीतको भिडियो पनि सार्वजनिक गरियो । महिला मोडलबाहेक यो गीतमा २५ वर्ष अघिकै टिमको सहकार्य रहेको संगीतकार जुगलले कार्यक्रममा जानकारी गराए । २५ वर्ष अघि वियोगान्त भावमा बनाएको यो गीतलाई यस पटक भने रोमान्टिक शैलीमा तयार गरेको पनि जुगलले बताए ।
गीतको भिडियोलाई कृष्ण देव रुपाखेतीले निर्देशन गरेका हुन् । जसमा अभिनेत्री प्रियंका कार्की र मोडल बिन्दे महर्जनको अभिनय छ । उत्सव दाहालले छायांकन गरेको यो गीतको भिडियोको सम्पादक विष्णु खड्का हुन् । सफल मोशन पिक्चर्सको पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।