
काठमाडौं, जेठ २० । तेजनेपाल
करिव दुई वर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित लोकप्रिय हास्य कलाकार घनश्याम गौतम अब हामीमाझ रहेनन् ।
‘नक्कली प्रचण्ड’ उपनामले दर्शकमाझ लोकप्रिय कलाकार गौतमको गए राति १२ः१० बजेको समयमा उपचारकै क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
कलाकार गौतमको फेसबुक एकाउन्टबाट मंगलवार राति १ः०५ बजेको समयमा कलाकार गौतमको एउटा तस्विरसहितको पोष्टमा भनिएको छ- ‘अब हामी माझ रहनु भएन ! हार्दिक श्रद्धाञ्जली ।’
कलाकार गौतमको निधनले नेपाली हास्य कलाकारिता क्षेत्रले एउटा प्रतिभाशाली कलाकार गुमाएको छ । कम उमेरमै यो संसारबाट विदा भएका यी लोकप्रिय कलाकारले विभिन्न हास्य श्रृंखला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रमहरुमार्फत आफ्ना कलाकारितालाई जारी राखेका थिए ।
दुई वर्षअघि पेटको क्यान्सर पुष्टि भएपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय उपचार गरे पनि नीका नभएपछि उनी भारतको नयाँ दिल्लीसमेत पुगेका थिए । उक्त उपचारपछि थप उपचारका लागि काठमाडौं फर्किएका कलाकार गौतमको स्वास्थ्यमा सुधार आएपछि केही मनोरञ्जनात्मक गतिविधिहरुमा समेत सहभागि भएका थिए । अघिल्लो वर्षको तिहारमा देउसी भैला गीत सार्वजनिक गर्न सफल भएका यी कलाकारको पुनः स्वास्थ्यमा समस्या आएपछि करिव डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए ।
केएमसी अस्पतालमा उपचारकै क्रममा स्वास्थ्य अवस्था थप जटिल भएपछि केही दिनअघि उनलाई परिवारले थप उपचारका लागि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा भर्ना गरेको थियो । यद्यपि, उपचारकै क्रममा उनले मंगलवार राति यो संसारबाट विदा लिए ।
उनको निधनमा राति नै विभिन्न कलाकारहरुले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली अर्पण गरेका छन् । चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले लेखेका छन्- ‘मेरी बास्सै सिरियलमा नक्कली प्रचण्डबाट पहिचान बनाउनु भएको कलाकार घनश्याम गौतम जी विगत दुई वर्षदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो र हालसालै केएमसी सिनामंगल हस्पिटलमा उपचार गराईराख्नु भएको थियो । त्यसपछि काठमाडौं क्यान्सर सेन्टर, ताथली, भक्तपुर अस्पतालमा उपचारको क्रममा मिति २०८२ जेठ २० गते मंगलवार रातको १२ः१० बजे निधनको खबरले मर्माहत बनायो । मृत आत्माको चिर शान्तिको कामना , शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् ।’
कलाकार गौतमको मंगलवार पशुपति आर्यघाटमा मंगलवार बिहान ८:३० बजे अन्त्येष्टी गरिने उनको परिवारका सदस्यले जानकारी दिएका छन् ।
आर्थिक सहयोगको लागि अपील
यसैबीच, कलाकार गौतमको परिवारले मंगलवार उपचारको क्रममा ठूलो धनराशी खर्च भएकाले अहिले काठमाडौं क्यान्सर सेन्टरलाई बुझाउनु पर्ने रकमसमेत अभाव भएको जानकारी गराएका छन् । गौतमकी बहिनी समिक्षा पौडेलले कलाकार गौतमको परिवारलाई आर्थिक सहयोगको अपील गरेकी छिन् । ‘उपचारको क्रममा सबै पैसा सकिएको छ । अस्पतालमा केही रकम तिर्न बाँकी छ, अन्त्येष्ठीका लागि समेत रकम अभाव भएको कुरा दिदीले बताउनु भएको छ’, गौतम तथा उनकी धर्मपत्नी यूगज्योती क्रियाशिलकी बहिनी पौडेलले बताएकी छिन् । पौडेलका अनुसार मंगलवार नै उनको अन्त्येष्टीका लागि तयारी गरिँदैछ ।