
दाङ, वैशाख २ । तेजनेपाल
शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई मूल आधार बनाउँदै प्रिन्स स्कूल
दाङ-प्रिन्स इङ्लिस मोडल बोर्डिङ स्कुल, लमही–५, दाङले शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई आधार मानेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएको छ ।

विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शैक्षिक सत्रका गतिविधिहरूबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा विद्यालय सञ्चालक समितिका अध्यक्ष सन्दिप पौडेलले विद्यार्थी भर्नाको नाममा भइरहने अस्वस्थ प्रतिस्पर्धाबाट विद्यालय टाढा रहेको बताउनुभयो ।

‘विद्यार्थी भर्नाको नाममा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ । प्रिन्स स्कुल यस्तो प्रतिस्पर्धाबाट धेरै टाढा छ,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘हामीले विद्यार्थीको सीप र क्षमता अभिवृद्धिसँग शिक्षण सिकाइलाई जोडेका छौं ।’ उहाँका अनुसार विद्यालयले भर्नाका लागि निश्चित कोटा तोकेर पठनपाठनलाई व्यवस्थित बनाउने प्रयत्न गरेको छ ।
विद्यालयका प्रिन्सिपल अविन महर्जनले पाठ्यक्रमको आधारमा एक्सन प्लान निर्माण गरेर पठनपाठन गर्ने उत्कृष्ट विधि अवलम्बन गरिएको जानकारी दिनुभयो । उहाँले निरन्तर मूल्यांकनलाई प्राथमिकता दिइएको र विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न जोड दिइएको बताउनुभयो ।

विद्यालयका गतिविधिहरूको विस्तृत विवरणमा ३० जना मात्र विद्यार्थी रहेको कक्षा, १९० दिन पूर्ण पठनपाठन, १५ दिन बिषयगत सीप परिक्षण, ८ दिन एकाइ परिक्षण र २८ दिन पूर्ण परिक्षा लगायत समावेश गरिएको छ । साथै, पुस्तकविहीन सिकाइ, सूचना प्रविधिको प्रयोग, अनलाइन गृहकार्य, र विषयगत श्रेणीकरण जस्ता विधिहरू समेत कार्यान्वयन गरिने जानकारी दिइएको छ ।
विद्यालयले शिक्षण विधिमा नवीनतम प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई मूल्य, शान्ति, धर्म, अन्तर्राष्ट्रिय विचार, कला, संगीत, पर्यावरणीय चेतना, पुस्तक अध्ययन तथा अनुसन्धानमा जोड दिने नीति लिएको छ ।