काठमाडौं, कार्तिक १५ । तेज नेपाल
सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि सरकारले उपलब्ध गराउने भनिएको ९५ लाख रुपैयाँसम्मको प्रोत्साहन अनुदान प्रक्रिया बिचैमा रोकिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अनुदानसम्बन्धी प्रक्रिया अर्को सूचना प्रकाशित नभएसम्मका लागि रद्द गरिएको जनाएको हो ।
यसअघि मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअनुसार कात्तिक १० गते गोरखापत्रमा सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो । जसका लागि ‘सांस्कृतिक तथा राष्ट्रिय महत्त्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८३’ समेत बनाइएको छ ।
यसअघि प्रकाशित सूचनाअनुसार इच्छुक आवेदकहरूलाई २१ दिनभित्र तोकिएको ढाँचामा मन्त्रालयमा आवेदन पेस गर्न समय दिइएको थियो । तर, सूचना प्रकाशित भएको तीन दिनमै मन्त्रालयले अर्को सूचना जारी गरी उक्त अनुदानसम्बन्धी प्रक्रिया नै रद्द गरिएको जानकारी दिएको छ ।
यस योजनाअन्तर्गत एउटै चलचित्रले कथा लेखन (स्क्रिप्टिङ) मा ५ लाख, छायाङ्कन (प्रोडक्सन) मा ७० लाख र सम्पादन (पोस्ट प्रोडक्सन) मा २० लाख गरी अधिकतम ९५ लाख रुपैयाँसम्म अनुदान पाउन सक्ने व्यवस्था गरिएको थियो । तर मन्त्रालयको नयाँ निर्णयसँगै हाललाई यो सम्पूर्ण आवेदन प्रक्रिया स्थगित भएको छ ।
मन्त्रालयको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि रद्द गरिएको उल्लेख गरिए पनि रद्द गर्नुको स्पष्ट कारण भने खुलाइएको छैन ।
