राराको नीलो आँखामा सात दिन एउटा अविस्मरणीय यात्रा
काठमाडौं, कार्तिक ८ । तेज नेपाल
पहिलो दिन
अष्टमीको बिहान थियो।
आकाशमा घाम अझै राम्ररी खुलेको थिएन। रातको शीतले आँगन चिसै थियो। घरआँगनमा दशैँको चहलपहल सुरु भइसकेको थियो—कतै अष्टमी पुजाको तयारी, कतै नयाँ कपडा मिलाउने हतारो, कतै टाढाबाट आएका आफन्तका आवाज। हावामा दशैँको छुट्टै सुगन्ध थियो।
दशैँ घरघरमा भित्रिँदै थियो, तर मेरो मनमा भने एउटा खाली ठाउँ थियो। गत बर्ष हजुरआमाको स्वर्गारोहण भएकोले यस वर्ष टीका लगाउने अवसर थिएन। त्यो अभाव मनको कुनै कुनामा बोकेर म यात्रामा निस्किएको थिएँ।
दशैँ आउँदा सधैँ सबैभन्दा पहिले सम्झना आउने अनुहार थियो—हजुरआमाको।
उहाँको हातमा टीका हुन्थ्यो। निधारमा रातो अक्षता लगाइदिँदा उहाँका औँलाको स्पर्शसँगै एउटा आशीर्वाद पनि टाँसिईरहेको हुन्थ्यो । तर यसपालि त्यो हात थिएन ।
घर उही थियो, दशैँ उही थियो, आँगन उही थियो केवल उहाँ हुनुहुन्नथ्यो।
सायद त्यसैले पनि मन कतै टाढा जान खोजिरहेको थियो।
बाहिर मोटरसाइकल तयार थियो। झोलाहरू बाँधिसकिएका थिए। ज्याकेट लगाएँ। हेल्मेट हातमा लिएँ। एकछिन चुपचाप उभिएँ।
मोटरसाइकल स्टार्ट गरियो ।
इन्जिनको आवाजले त्यो बिहानको मौनता चिरेर निस्कियो।
गल्छीबाट अगाडि बढ्दा पछाडि छुट्दै गएको घर, सडकछेउका पसल, बिहानको चिसो हावा र बिस्तारै खुल्दै गरेको आकाशलाई हेर्दै लाग्यो—अब म केवल ठाउँ बदल्न निस्किएको होइन, केही समयका लागि आफूलाई नै भेट्न निस्किएको थिएँ ।
गन्तव्य थियो—रारा ताल !
तर त्यो नाम उच्चारण गर्दा मनमा तालको तस्वीरभन्दा पहिले बाटोको तस्वीर आउँथ्यो।
लामो सडक।
अनगिन्ती घुम्ती।
पहाडमाथि टाँसिएका बस्ती।
कर्णालीको गहिरो खोँच।
धुलो र ढुंगाले भरिएका बाटाहरु ।
अपरिचित गाउँहरू।
र ती सबै पार गरेपछि हिमालको काखमा नीलो भएर बसेको रारा।
गल्छी पछाडि छुट्यो।
धादिङका पहाडहरू अगाडि आए। कतै सडक चर्किएको थियो, कतै धुलो उडिरहेको थियो। मोटरसाइकलका पाङ्ग्राले सडकको प्रत्येक असमानता महसुस गरिरहेका थिए। बिहानको चिसो विस्तारै हराउँदै गयो र घामले सडक तताउन थाल्यो।
चितवनतर्फ झर्दै जाँदा भूगोल फेरियो। पहाडको काखबाट तराईको फराकिलो मैदानतिर झरियो। बाटोछेउका खेत, बजार र बस्तीहरू पछाडि दौडिरहेजस्ता देखिन्थे। नारायणगढ कटेर गैंडाकोट कावासोती हुँदै फेरि दाउन्नेको उकालो आयो। पहाड चढ्दै गर्दा हावाले अनुहारमा अर्कै किसिमको चिसोपन ल्यायो।
दाउन्नेमा खाना खाँदा पनि मन भने बाटोमै थियो।
आज कहाँ पुगिएला?
राति कहाँ बास पाइएला?
अर्को दिन कस्तो सडक भेटिएला?
यस्ता प्रश्नको कुनै निश्चित उत्तर थिएन। यात्राको सबैभन्दा सुन्दर कुरा पनि सायद यही थियो—अर्को मोडपछाडि के छ भन्ने थाहा नहुनु।
पुर्व पश्चिम महेन्द्रलोकमार्गमा काम भैरहेको खबर पाएपछि भुमही पुगेर बाटो फेरियो। रामग्रामतर्फ मोडियौँ । लुम्बिनीको शान्त भूगोल पार गर्दै लबनी, पकनी, बहादुरगञ्ज हुँदै चनौटातिर बढ्यौँ।
दिन ढल्दै थियो।
अमिलियामा पुगेर खाजा खायौँ। त्यसपछि तुलसीपुरतर्फ दायाँ मोडियौँ।
जङ्गलको बिचमा सडकको स्वर फेरि बदलिँदै थियो। भञ्ज्याङ् पुगेर ओरालो लागेपछि कतै तराई त कतै पहाडको झल्को दिदै बाटो तुलसीपुर पुरन्धरा काल्चे हुँदै जादा साँझको सुनौलो प्रकाश पहाडका धारमा अड्किएको थियो। बस्तीका पसलहरूमा बत्ती बल्न थालेका थिए। मोटरसाइकलको हेडलाइटले अँध्यारो सडकलाई सानो घेराभित्र उज्यालो बनाउँदै थियो।
बोटेचौर पुग्दा रात परिसकेको थियो।
घडीले आठ बजाइसकेकोले होटल खोज्न थाल्यौँ।
यो यात्राका सात दिनमध्ये कुनै रात पनि हामीले पहिले नै होटल बुक गरेका थिएनौँ। साँझ जहाँ पुगिन्थ्यो, त्यहीँ बस्ने ठाउँ खोजिन्थ्यो। कहिलेकाहीँ होटल सजिलै भेटिन्थ्यो, कहिलेकाहीँ थकित शरीर बोकेर एउटा कोठाको खोजीमा बजारका गल्ली चहार्नुपर्थ्यो।
त्यो पहिलो रात पनि त्यस्तै भयो।
कोठामा पुगेपछि हेल्मेट खोलेँ। दिनभरको धुलोले अनुहार भारी भएको थियो। शरीर थाकेको थियो। तर आँखा बन्द गर्दा पनि सडक नै देखिन्थ्यो गल्छी, धादिङ, चितवन, दाउन्ने, भुमही, लुम्बिनी, चनौटा, अमिलिया, तुलसीपुर हुँदै बोटेचौरसम्मको लामो रेखा।
त्यो रात सुत्नुअघि एउटा कुरा मात्र मनमा आयो
आज देशमा दशैँको मुख्य रात बितिरहेको छ
म भने रारातर्फ जाने बाटोको पहिलो रातमा छु।
र मलाई अझै थाहा थिएन
केही दिनपछि यही यात्राको बीचमा, राराको नीलो पानीको किनारमा, रारा र मलाई साक्षी बनाएर साथीहरूले निधारमा दशैँको टीका लगाउनेछन् त्यहि टीकाले हजुरआमाको सम्झना पुनः ताजा हुनेछ र नयनमा छछल्किनेछ
र त्यो क्षणमा मैले बुझ्नेछु
कहिलेकाहीँ घरबाट टाढा निस्किएको यात्रा नै मनलाई घरसँग अझ गहिरोसँग जोडेर फर्काउँदो रहेछ।
दोस्रो दिन : कर्णालीको स्वर
बिहान बोटेचौरको चिसो हावाले निद्रा खोल्यो।
अघिल्लो दिनको थकान शरीरमा बाँकी नै थियो, तर अगाडिको बाटोले फेरि बोलाइरहेको थियो। झोला बाँध्यौँ, मोटरसाइकल स्टार्ट गर्यौँ र बोटेचौर बाट सुर्खेतको वीरेन्द्रनगरतर्फ लाग्यौँ।
वीरेन्द्रनगर पुग्दा बिहानको बजार विस्तारै जाग्दै थियो। खाजा खाएर फेरि बाटो समात्यौँ।
बड्डीचौरमा यज्ञ सरसँग भेट भयो। यात्राको बीचमा पहिल्यै चिनजान भएको मान्छेको अनुहार देख्दा अपरिचित बाटो पनि एकाएक आफ्नैजस्तो लाग्दोरहेछ।।
केहीबेरको कुराकानीपछि दैलेख तर्फ लाग्यौँ।
दैलेखतिर पुग्दा सडकको रूप फेरिएको थियो। धेरै ठाउँमा ग्राभेल र ढुंगा थिए। मोटरसाइकलका पाङ्ग्राले धुलो उडाउँथे, कहिले ढुंगामाथि चिप्लिन खोज्थे। तर वरिपरि देखिने पहाड र बस्तीले थकानलाई आँखाबाट भित्र पस्न दिँदैनथे। तल्लो डुंगेश्वर हुँदै कर्णालीको किनार टुनिबगर पुगेर बिश्राम गर्यौ । झोलुङ्गे पुलबाट कर्णाली तरेर अछाममा पाईला राखियो फर्केर दुईचारवटा फोटो खिचेपछि त्यहीँ टुनिबगर बजारमै सामान्य छाप्रो जस्तो देखिने होटलमा निकै स्वादिष्ट र स्वस्थकर खाना खायौँ। खाना खुवाउने दिदीको मीठो वचन , व्यबहार आाँखामा भरेर अगाडि बढियो।
खिड्कीज्यूला , राकम कर्णाली हुँदै बाटो कर्णालीको साथमा हिँड्न थाल्यो।
गहिरो खोँचको तल कर्णाली बगिरहेको थियो। कतै नदी नीलो देखिन्थ्यो, कतै चट्टानसँग ठोक्किँदै सेतो फिँज निकाल्थ्यो। माथि हामी सडकमा थियौँ, तल कर्णाली आफ्नै वेगमा।
कहिलेकाहीँ लाग्थ्यो—हामी यात्रा गरिरहेका छैनौँ, नदीलाई पछ्याइरहेका छौँ।
एकातिर विशाल पहाड, अर्कोतिर गहिरो खोँचमा आफ्नै लयमा बगिरहेको कर्णाली। नदीको पानी कहिले टाढा देखिन्थ्यो, कहिले सडकसँगै दौडिएजस्तो लाग्थ्यो।
सुर्खेतको तुलनामा दैलेखतिर सडक धेरै ठाउँमा कच्ची थियो। धुलो, ढुंगा र घुम्तीबीच मोटरसाइकल चलाउँदै जाँदा कालिकोटको पचाल झरना जाने मोडमा गएर रोकियौँ। त्यहाँ बाट झन्डै एकघन्टाको यात्रामा पचाल झरना पुग्न सकिने कुरा बुझेपछि कालिकोटको मान्मतर्फ लाग्यौँ। कतै सडक सहज थियो, कतै फेरि उकालो र घुम्तीले परीक्षा लिन्थ्यो।
कालिकोट मान्मबजारमा केहि समय रोकिएपछि नाग्मतर्फ बढ्दा पहाडका काखमा साना–साना बस्तीहरू देखिन थाले। कतै आँगनमा भेडाका बथान थिए, कतै स्याउका बोटका पात झरिसकेका थिए। हिमाली हावाको चिसोपन विस्तारै शरीरभित्र पस्दै थियो। कञ्चन खोलानालाले यात्रालाई दृश्यको लामो शृंखलामा बदलिरहेका थिए।
सुर्यदेवले बिदाई मागेको निकै बेर भैसकेको थियो नाग्म बजार पुग्नुअघि एउटा दुर्घटना भयो। सामान्य चोटपटक लागेकाले केहीबेर यात्रा रोकियो। त्यहि भेटिनुभयो गणेश उपाध्याय सर ! उहाँलाई सोध्यौँ बजार कति टाढा छ उहाँले नजिकै हो जाम हिड्नुस् भन्नुभयो परिस्थिति सम्हालेर फेरि अगाडि बढ्यौँ।
संयोग एउटै होटलमा बास बसियो उहाँले यात्रा र बाटो बारे धेरै जानकारी दिनुभयो । बिहान सङ्गै जाम मेरो घर पनि त्यहि बाटोमा हो हजुरहरुलाई बाटो बताईदिम्ला भन्नुभयो आभार प्रकट गर्दै त्यो रात नाग्ममा बिश्राम गरियो । मार्सी धानको भात र च्याङ्राको मासु निकै मीठो मानेर खाईयो ।
तेस्रो दिन : बाटोमा भेटिएकी आमा,सल्लेरीसम्म बाइक, त्यसपछि पैदल
नाग्म बजारबाट अगाडि जाँदैगर्दा पानीको तिर्खाले सताईरहेको थियो बाटोमा पानीको धारा भेटियो नजिकै एउटी अन्दाजी ५५/६० बर्षकी एकजना आमासँग भेट भयो।
त्यहाँको बस्तुस्थिति ,उहाँहरुको दिनचर्याको बारेमा कुरा भयो छुट्ने बेलामा उहाँले झन्डै डेढ किलो स्याउ हामीलाई दिनुभयो।
पैसा दिन खोज्यौँ, लिन मान्नुभएन।
त्यो स्याउको स्वादभन्दा ठूलो कुरा थियो—अपरिचित यात्रुलाई आफ्नै मान्छेजस्तो सम्झने त्यो मन।
दुर्गम पहाडमा भेटिएको त्यो सानो आतिथ्य मेरो यात्राको ठूलो सम्झना बन्यो।।
हामीले फर्किँदा यही बाटो आउने सोच बनायौँ। उहाँलाई फेरि भेट्ने मन थियो तर यात्राले अन्ततः अर्को दिशा समात्यो।
फेरि भेट हुन सकेन।
तर त्यो आमाको हातबाट आएको स्याउ मेरो यात्राको सबैभन्दा मीठो स्वादमध्ये एउटा बन्यो।
कहिलेकाहीँ यात्रामा मानिसहरू केही क्षणका लागि भेटिन्छन्, तर सम्झनामा धेरै लामो समय बस्छन्। यात्रा अगाडि बढ्यो। हामी अगाडि थियौं गणेश सरले भेटाउनुभयो संगै अगाडि बढ्यौं
यात्राकै क्रममा गणेश उपाध्याय सरको घर पनि बाटोमै भेटियो। उहाँको परिवारले दिएको माया र सम्मानले अपरिचित ठाउँमा पनि आफ्नै घरको अनुभूति गरायो। छुट्ने बेलामा गणेश सरले आफ्नो नम्बर दिनुभयो र केहि अप्ठ्यारो पर्यो भने सम्झिनुहोला म छु भनेर निकै गर्विलो ढाढस दिनुभयो
जीवनका विभिन्न यात्रामा यात्री धेरै भेटिए, तर यस्ता यात्री निकै कम भेटिन्छन्—जहाँ सम्बन्ध भन्दा अपनत्व निकै ठूलो हुन्छ। उहाँले ठुलो गुन लगाउनुभयो । बिदाईका हात हल्लाउँदै अगाडि बढियो ।
मुगुको बाटोले अब आफ्नो वास्तविक स्वरूप देखाउन थालेको थियो।
पक्की सडकको भरोसा सकिएको थियो। ढुंगा, धुलो, खाल्डा र उकालोले मोटरसाइकलको गति घटाउँदै लगे। तर जति बाटो कठिन हुँदै गयो, वरिपरिको दृश्य उति नै सुन्दर हुँदै गयो।
हिमालको काखमा टाँसिएका बस्तीहरू।
स्याउका बोट। मझौला तथा ठुला सल्लाका बोटहरु
पात झरेका रूखहरू।
चट्टानमुनिबाट निस्किएका निर्मल खोला।
डाँडाका भिरालो पाखामा चरिरहेका भेडाका बथान।
र टाढा निलो आकाशमा हराउँदै गएका पहाडका तहहरू।
यी सबै कुराहरुले यात्रालाई अविस्मरणीय बनाइरहेका थिए।
बड्की ,मालिका, बोता, पिना हुँदै सल्लेरी पुगेर मोटरसाइकल पार्क गरियो।
अब मोटरसाइकलको इन्जिन बन्द भयो र पाइतालाले यात्रा समात्यो।
रारा जाने क्रममा नेपाली सेनाको चेकपोस्टमा प्रवेश दर्ता गरियो।
दिनभरीको बाईकको यात्राले थकित भएपनि कतिबेला रारालाई नयनले स्पर्श गर्न पाँउला भन्ने थियो । यात्रा गर्न गाह्रो हुनेलाई घोडाको सुविधा पनि रहेछ तर हामीले पैदल नै यात्रा गर्ने तय गर्यौ । झन्डै एक घण्टा लामो पैदल यात्रापछि रूखहरूबीचबाट नीलो रंगको एउटा विशाल झिल्को देखियो।
रारा ताल !
लामो बाटो, धुलो, थकान र अनगिन्ती घुम्तीपछि पहिलोपटक त्यो नीलो पानी देख्दा केहीबेर शब्द नै आएनन्।
लामो यात्रापछि पहिलोपटक देखिएको त्यो नीलो विस्तारले मनलाई एकछिन मौन बनाइदियो। निकै खुसि तुल्यायो । साँझ पर्नै लाग्दा निलो रारालाई सुम्सुम्याउन पाँउदा निकै खुशी लाग्यो ।
तर हाम्रो यात्रा अझै सकिएको थिएन।
भोलिपल्टको सूर्योदय हेर्ने उद्देश्यले रारा तालबाट मुर्मा टपतर्फ उकालो लाग्यौँ।
उकालो कठोर थियो। हावा पातलो हुँदै गयो
उचाइ बढ्दै जाँदा अक्सिजनको कमीले केही साथीहरूलाई हिँड्न गाह्रो भयो। बीचबीचमा रोकिँदै, सास सम्हाल्दै करिब तीन घण्टाको उकालोपछि मुर्मा टपको रिसोर्ट पुग्यौँ।
त्यो रात असाध्यै चिसो थियो। तातो खाना खाँदै आगोको रापमा बसियो ।रिसोर्ट मालिक बा को जवानीका कुरा र तत्कालीन अवस्थाको संघर्ष, मुगुबाट कोहलपुर जान ३५ /४० दिन लाग्ने कुराले निकै मर्माहत बनायो बा को स्वागत गीत सुनेर आनन्द मान्दै त्यो दिनको विश्राम गरियो ।
चौथो दिन : मुर्मा टपको सूर्योदय
बिहानै उठेर करिब २० मिनेट हिँड्दै टपमा पुगियो। साथीहरू पछ्याउँदै हुनुहुन्थ्यो धेरैलाई हिड्न गाह्रो भैरहेको थियो । बिस्तारै सबैजना माथि टपमा आईपुग्नुभयो ।
पूर्वतिर एउटा फिक्का उज्यालो देखिन थाल्यो। हामी चुपचाप उभियौँ।
बिस्तारै आकाशको रंग बदलियो। पहिले खरानी त्यसपछि हल्का सुनौलो।
अनि एकाएक सूर्यको किरण हिमालका धारमा पर्यो।
तल रारा तालले उज्यालो समात्यो। नीलो पानी सुनौलो प्रकाशमा चम्कियो। यतिबेला रारा निलो ऎना जस्तै देखियो ।
वरिपरिका डाँडाकाँडा बिस्तारै स्पष्ट हुँदै गए।
त्यो दृश्यलाई क्यामेराले कैद गर्न सक्थ्यो, तर त्यसको सम्पूर्ण अनुभूति शायद कुनै तस्बिरले समेट्न सक्दैन।
हामीले नेपालको झन्डा निकालेर तस्बिर खिच्यौँ।
मुर्मा टपबाट रारा तालसँगै जुम्ला, कालिकोट, मुगु र वरिपरिका हिमाली भूभागका डाँडाकाँडा देखिन्थे। मौसम खुलेको बेला टाढाका हिमाली श्रृंखलासमेत दृश्यमा थपिन्थे।
पश्चिममा सैपाल हिमाल ,पूर्व दिशामा कान्जिरोवा हिमाल, अपि हिमाल तथा तिब्बती पठार र भोट क्षेत्रका हिमालहरू हेर्दा स्वर्ग भनेको यतै हो भन्ने महसुस भयो ।
तिनै मनोरम दृश्यलाई नियाल्दै नेपालको झन्डा हातमा लिएर तस्बिर खिच्दा मनभित्र एउटा अनौठो गर्व जाग्यो।
हिमाल र रारालाई साक्षी राखेर आफ्नो देशको झन्डासँग उभिन पाउनु आफूलाई भाग्यमानी ठान्ने पर्याप्त कारण थियो।
त्यहीँ पोखरा, भक्तपुर, स्याङ्जा र सुर्खेतबाट आएका हामी जस्तै यात्रु साथीहरूसँग आत्मीय परिचय भयो। पारिलो घामको स्पर्श गरेपछि
मुर्मा टपबाट रिसोर्टमा फर्किएर ब्रेकफास्ट गरी झोला बोकेर हामी करिब दुई घण्टाको ओरालोपछि रारा तालमा आइपुग्यौँ।
राराको काखमा दशैँको टीका
क्यालेन्डरमा दशैँ थियो तर भाग्यमा थिएन । हजुरआमा स्वर्गे हुनुभएकोले दशै मनाईएन यो वर्ष ।
यो बर्ष बाट हजुरआमाको हातबाट टीका लगाउने मेरो इच्छा सदाका लागि अधुरो भएको थियो ।
तर रारा तालको किनारमा संगै यात्रा गरेका र यात्रामा भेटिएका साथीहरूले टीका लगाए।
साथीहरूको निधारमा टीका थियो, अगाडि रारा, टाढा हिमाल र मनमा हजुरआमाको सम्झना।
त्यो क्षणले दशैँलाई मेरो लागि एउटा नयाँ अर्थ दियो।
घरबाट टाढा भए पनि आफ्ना मानिसको माया कहाँ टाढा हुँदोरहेछ र?
चौध जना र एउटा डुंगा
रारा तालमा डुंगा चढ्न करिब एक घण्टा प्रतीक्षा गर्नुपर्यो।
अन्ततः डुंगा आयो।
हामी चौध जना त्यसमा सवार भयौँ।
डुंगा नीलो पानी चिर्दै अघि बढ्यो। कोही फोटो खिच्दै थिए, कोही भिडियो बनाउँदै, कोही तालका बारेमा कुरा गर्दै। हाँसो र कुराकानीले डुंगा गुन्जिएको थियो।
तालको वारी र पारी दुवैतिर देखिने गरि फोटो र भिडियो खिच्यौँ।
केही समयका लागि हामी पर्यटक मात्र थिएनौँ—राराको नीलो संसारभित्रका साक्षी बनेका थियौँ।
झन्डै ४५ मिनेट डुंगामा यात्रा गरेर वारी आईपुगियो । डुंगाबाट अर्को किनारमा पुगेपछि फेरि फोटो र भिडियो खिच्यौँ। करिब एक घण्टा पैदल हिँडेर सल्लेरी आइपुगियो।
फर्किँदा नेपाली सेनाको चेकपोस्टमा पुनःनाम दर्ता गरेर राराबाट बाहिर निस्कियौँ।
सल्लेरी बजारमा खाना खाइयो। अब फर्कनु थियो यात्राको साथी पुनः बाईक बनाएर झोला बोकेर यात्रा सुरु भयो ।
मुगुको बाटो र मानिसको मन
सल्लेरी बजारबाट झन्डै ७ किमि यात्रा गरेपछि मुगु बजारतर्फ बाटो मोड्यौ निकै रमणीय ठाउँमा रहेछ मुगुको गमगढि बजार ! बजारको अवलोकन गर्दै तल्लो बाटो समात्यौँ। बाटो थोरै ठाँउमा राम्रो भएपनि धेरैजसो बिग्रेको थियो कतै बाईक धकेल्दै त कतै पछाडिको मान्छे झरेर यात्रा लाई निरंतरता दियौं जसोतसो मुल बाटोमा भेटियौ जहाँ रारा राष्ट्रिय निकुञ्ज प्रहरी चेकपोस्ट थियो त्यहाँ पनि नाम दर्ता गराएर अगाडि बढ्यौं । रारा राष्ट्रिय निकुञ्ज मुगु प्रवेशमा नेपाली सेनाले नाम दर्ता गरेको थियो सोहि ठाउँमा फिर्ता हुदै गर्दा पुनः नाम दर्ता गराएर ओरालो लागियो।भुलभुले पुगी सागर कठायत सरलाई सम्पर्क गरियो उहाँ नजिकै हुनुहुदो रहेछ ।उहाँको मावलीमा सागर कठायत सरसँग भेट भयो। उहाँका मामासँग पनि भेट भयो। उहाँका मामाले आफ्नै घरमा बस्न निकै आग्रह गर्नुभयो। यात्रामा बेला आएको त्यो आत्मीय निम्तो मन छुने खालको थियो। तर यो रात खलंगा बजार पुग्ने योजना बनिसकेको हुँदा त्यहाँबाट बिदा भएर अगाडि बढ्यौं ।
भुलभुलेदेखि खलंगा : अँध्यारो बाटोको परीक्षा
भुलभुलेबाट खलंगातर्फ लाग्दा यात्रा कठिन हुँदै गयो।
बाटो थियो, तर रातमा त्यो बाटो नामको मात्र सडकजस्तो लाग्थ्यो।
न घर। न पसल। न मानिस। न पानी। न बत्ति । न कतै उज्यालो ।
भोक र प्यासले सताइरहेको थियो। मोटरसाइकलको यात्रा निकै कष्टकर भयो । कतिपय ठाउँमा बाइक चलाउनुभन्दा ठेल्नु सजिलो लाग्थ्यो।
यही क्रममा अरू केही यात्रुहरू भेटिए। उनीहरूको मोटरसाइकलको क्लच प्लेट बिग्रिएको रहेछ र जङ्गलको बीचमा उनीहरू बिचल्लीमा थिए। आफूले सक्ने सहयोग गर्न मन भए पनि परिस्थिति आफ्नै सीमामा थियो।
त्यो रात हामीले अँध्यारो, भोक, प्यास र थकानसँगै बाटो काट्यौँ।
अन्ततः जुम्लाको सदरमुकाम खलंगा पुग्दा रात निकै ढलिसकेको थियो।
होटल खोजेर बास बसियो।
त्यो रात निद्रा मात्र होइन, थकानसँगको सम्झौता थियो।
मेरो देश राजधानी भन्दा पर मुगु जुम्ला कालिकोटका कहानी सम्झिँदै कर्णालीको कथामा आफूलाई समेटेर आफूले आफैंलाई सम्झाउने एउटा पृथक यात्रा थियो । त्यहि स्मरण गर्दै रात बिताईयो
पाँचौँ दिन : जुम्लाबाट सुर्खेत
खलंगाबाट बिहान यात्रा सुरु भयो।
जुम्लाको खलंगादेखि नाग्मसम्मको सडक तुलनात्मक रूपमा पक्की र सहज थियो।
नाग्म बजारमा खाजा खाइयो।
त्यसपछि मान्म बजार पुगेर केरा र सुन्तला किनेर खाइयो। लामो यात्रामा यस्ता साना कुराले पनि शरीरमा नयाँ ऊर्जा भरिदिँदा रहेछन्।
जति हिडेपनि नसकिने लामा बाटाहरु छोट्याउदै खिड्किज्यूला ,तल्लो डुंगेश्वर हुँदै टुनीबगर बजारमा खाना खाएपछि सुर्खेतको वीरेन्द्रनगरतर्फ झर्यौँ। कर्णालीको किनार अब फर्किने दिशामा थियो।यात्रा एक बिन्दुमा पुगेर फर्कदै थियो । यात्री फर्कदै थियौं ।
जुन दृश्यहरू आउँदा नयाँ लागेका थिए, तिनै दृश्यहरू फर्किँदा परिचित भइसकेका थिए।
बड्डीचौर हुँदै बिरेन्द्रनगर आईपुग्दा साँझ परेको थिएन त्यसैले संभावना भएको ठाउँ घुम्नुपर्छ भन्ने लाग्यो । रिमरिम साँझ पर्दै गर्दा वीरेन्द्रनगरमा रहेको चर्चित बुलबुले तालको अवलोकन गरियो।
राराको विशालता देखेर फर्किएको मन अर्को तालको किनारमा उभिँदा पनि पानीसँग जोडिएको प्रकृतिको आफ्नै भाषा सुन्दै थियो।
आफूले सानै हुँदा सुनेको सुर्खेत बुलबुल ताल गीत त्यही तालको किनारमा बसेर गुनगुनाउदै साँझ पर्यो ।
सुर्खेतमा छुटेको एउटा भेट
वीरेन्द्रनगरमा राजीव सन्यासी दाजुलाई भेट्ने इच्छा थियो।
उहाँसँग पहिल्यै चिनजान थियो। झन्डै ३ बर्ष संगै सहकार्य गरेका हामी भेट्न नपाउँदा निकै खल्लो महसुस भयो ।
फोनमा सम्पर्क गर्दा उहाँ अप्ठ्यारो परिस्थितिमा हुनुहुँदो रहेछ। भेट्ने बाचा भएपनि अन्तिम क्षणमा भेट हुन सकेन।
यात्राले कहिलेकाहीँ भेटहरू दिन्छ, कहिलेकाहीँ अधुरा भेटका सम्झना।
राजीव दाजुसँगको त्यो भेटहुन नसकेको पल पनि त्यही अधुरो सम्झनामध्ये एउटा बन्यो।
छैटौँ दिन : सुर्खेतदेखि नारायणगढ
सुर्खेतबाट यात्रा सुरु भयो।
बिहानीको पहिलो काम नै काक्रे बिहार घुम्ने भयो काक्रेबिहार बाट फर्केपछि अब कोहलपुर तर्फ यात्रा अगाडि बढाउनु थियो। बाटैमा पर्ने देउती बजै पुगेर केहिबेर दर्शन गरियो अनि यात्रा अगाडि बढाएर छिन्चु बजार पुगियो। त्यहाँ खाजा खाएर यात्रामा अगाडि बढ्दै भेरि नदि पुलमा थोरै बिश्राम गरि पुनः अगाडि बर्दिया राष्ट्रिय निकुञ्जतर्फ लाग्यौँ। बबई नदिको पुलको सम्झना क्यामेरामा सङालेर जङ्गल नै जङ्गल छिचोल्दै अगाडि बढिरह्यौ ।
रारा क्षेत्रको चिसो पहाडी वनबाट अब सालका रूखले ढाकिएको तराईको वनतर्फ यात्रा बदलिएको थियो। सालका अग्ला रूखहरू बाटोको दुवैतिर उभिएका थिए। बाटो जंगललाई चिर्दै अघि बढिरहेको थियो।
हिजो हिमालको चिसोमा काँपेको शरीर अब तराईको न्यानो हावासँग परिचित हुँदै थियो। बर्दिया पार गरेर कोहलपुर आइपुगियो। कोहलपुर पार गरेको केहि समयमा साथीको मोटरसाइकलले समस्या दियो। समस्या समाधान गरेपछि यात्रा पुनः अघि बढ्यो।
लमही बजारमा आईपुगेर खाना खाइयो। सकेसम्म गल्छि पुग्ने योजना थियो त्यसैले पुनः यात्रालाइ निरंतरता दिईयो।
महेन्द्र राजमार्गमा बाटो बन्दै गरेका कारण चनौटाबाट दक्षिण तर्फ भित्र छिरेर लुम्बिनी हुँदै भुमहीतर्फ लाग्यौँ। भुमहि देखी चितवन सम्मको बाटो निकै राम्रो भएपनि सुर्यदेवले बिदा मागिसकेकाले यात्रामा विस्तारै अगाडि बढियो।
राति अबेर नारायणगढ पुगि होटल खोजेर बास बसियो।
होटलको कोठामा झोला राखेर बस्दा शरीरले अब सातौँ दिनको बाटो पनि बाँकी रहेको सम्झायो।
शरीर यात्राले थाकिसकेको थियो, तर अब घरको दूरी निकै छोटो भइसकेको थियो। अगाडि बितेका दिनको यात्रा नयनमा घुमाउँदा घुमाउँदै रातलाई बिदा गरियो ।
सातौँ दिन : साथीहरू छुटे, म एक्लै राजधानीतर्फ
नारायणगढको बिहान अलि फरक थियो।
अब रारा जाने बाटो थिएन घर फर्किने बाटो थियो।
मुग्लिन पार गर्दा पहाडका घुम्तीहरूले यात्राको सुरुआत सम्झाइरहेका थिए। केही दिनअघि यही भूगोल पार गर्दै हामी टाढा जाँदै थियौँ। आज त्यही बाटोले हामीलाई घरतिर फर्काउँदै थियो।गल्छी पुग्दा सात दिनअघि सुरु भएको यात्राको एउटा पूर्ण चक्र पूरा भयो।
गल्छीमा साथीहरू छुट्टिए। अब बाँकी बाटो एक्लै थियो।
गल्छीबाट काठमाडौँसम्मको यात्रा मैले स्कुटीमा एक्लै तय गरेँ।
स्कुटीको ह्यान्डल समातेँ। सडक अगाडि थियो। अब साथमा साथीहरूको आवाज थिएन तर पछाडि सात दिनका अनगिन्ती आवाजहरू थिए।
गल्छीको सडक,दाउन्नेको खाना,अमिलियाको खाजा।
तुलसीपुर , कर्णालीको किनार।
कर्णालीको गर्जन,मोटरसाइकलको इन्जिन।
राराको पानीमा डुंगाको छाल, मुर्मा टपको हावाको सुस्केरा।
साथीहरूको हाँसो ,नाग्मकी आमाको अनुपम उपहार स्याउ।
खलंगाको अँध्यारो।
राराको किनारमा साथीहरूको निधारमा परेको त्यो दशैँको टीका।
कालिकोटका घुम्ती, गणेश सरको परिवारले दिनुभएको माया
राराको नीलो पानी, मुर्मा टपको सूर्योदय।
नेपालको झन्डा,मुगुको कच्ची बाटो,सागर सर संगको भेट
भुलभुलेको अँध्यारो, खलंगाको थकान र अन्ततः गल्छीबाट एक्लो फर्किएको बाटो।
सबै एकैपटक मनमा आए।
रारा : आँखाले देखेकोभन्दा मनले बुझेको
रारा पुग्नुअघि मलाई लाग्थ्यो—म एउटा सुन्दर ताल हेर्न जाँदैछु।
फर्किएपछि बुझें—
रारा एउटा ताल मात्र रहेनछ।
त्यहाँ पुग्ने कठिन बाटो पनि रारा रहेछ।
कर्णालीको किनार पनि रारा रहेछ।
हिमालका काखमा बसेका बस्ती पनि रारा रहेछन्।
स्याउका बोट र भेडाका बथान पनि राराकै कथा रहेछन्।
बाटोमा भेटिएकी आमाको निःस्वार्थ स्याउ पनि रारा रहेछ।
गणेश उपाध्यायज्यूको परिवारको आत्मीयता पनि रारा रहेछ।
सागर सरका मामाको निम्तो पनि रारा रहेछ।
र मुर्मा टपमा नेपालको झन्डा बोकेर उभिएको त्यो गर्विलो क्षण पनि रारा नै रहेछ।
त्यसैले रारालाई केवल आँखाले हेरेर फर्किन सकिँदैन रहेछ।
रारा त मनमा लिएर फर्किनुपर्दोरहेछ।
यात्रा गन्तव्यमा पुगेर सकिँदैन रहेछ। बाटोमा भेटिएका मानिस, पार गरेका घुम्ती, भोगेका कठिनाइ र अचानक मन छोएर जाने कुनै दृश्यमा यात्रा लामो समयसम्म बाँचिरहँदो रहेछ।
मेरो रारा यात्रा पनि त्यस्तै भयो—सात दिन, दैनिक बाह्र–तेह्र घण्टाको मोटरसाइकल यात्रा, हजारौँ घुम्ती, कच्ची–पक्की सडक, हिमालका काखमा बसेका बस्ती, कर्णालीको वेग, चिसो हावा, साथीहरूको साथ र अनगिन्ती सम्झना।
अन्तिम शब्द
सात दिनपछि काठमाडौँ फर्किएँ।
शरीर थाकेको थियो।
तर मनमा एउटा अनौठो शान्ति थियो।
मैले एउटा ताल देखेर मात्र फर्केको थिइनँ।
मैले आफ्नो देशको एउटा फरक अनुहार देखेर फर्किएको थिएँ—कठिन सडकभित्र लुकेको सौन्दर्य, दुर्गमताभित्र बाँचेको आत्मीयता र अभावबीच पनि उदार रहन जाने मानिसहरूको संसार।
रारा आज पनि त्यहीँ छ।
हिमालको काखमा नीलो पानी बोकेर।
तर मेरो मनमा रहेको रारा भने त्यो तालभन्दा अलि फरक छ।
सात दिनसम्म शरीरले भोगेको त्यो लामो बाटो छ।
सायद यही नै नियात्राको सुन्दरता हो—
गन्तव्यमा पुगेपछि पनि यात्रा मनभित्र चलिरहन्छ।
र मेरो त्यो यात्रा अझै चलिरहेको छ।
राराको नीलो आँखामा।
सायद यात्राको सबैभन्दा ठूलो उपलब्धि गन्तव्यमा पुग्नु होइन रहेछ।
आफू हिँडेको बाटोभित्र केही यस्तो भेट्टाउनु रहेछ, जसलाई फर्किएपछि पनि मनले छोड्न नसकोस्।
राराले मलाई त्यही दियो।
एउटा नीलो तालभन्दा धेरै ठूलो सम्झना।
सात दिनको बाटो सकियो,
तर रारासम्म पुगेको त्यो मन अझै फर्किएको छैन।
अमन एकल राम कृष्ण पाण्डे
