काठमाडौँ, असोज ९ । तेज नेपाल
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले पदभार ग्रहण गरेका छन् । सोमबार बोर्डको कार्यालय पुगेर पण्डितले कार्यभार सम्हालेका हुन् । बोर्डमा उनलाई कर्मचारी र अन्य पदाधिकारीले फूलमालाले स्वागत गरेका छन् ।
बोर्डमा पदभार ग्रहण अगाडि उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो अध्यक्ष पदको नियुक्त बुझेका थिए । पण्डितलाई गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष पदका लागि १२ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
तीमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पण्डितसहित नरेशकुमार पौडेल र निशा अधिकारीलाई अन्तिम तीन प्रतिस्पर्धीका रूपमा छनोट गरेको थियो
बोर्डमा बक्स अफिस प्रणाली लागू गर्ने प्रक्रियामा समेत संलग्न रहेका पण्डितले यसअघि बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलको कार्यकालमा बक्स अफिस सफ्टवेयर भित्र्याउन भूमिका खेलेका थिए । उनी फिल्मका निर्माता पनि हुन् ।
