पत्रकार महासंघकाे सदस्यता अब क्रियाशीलताको आधारमा वितरण गरिने छ : केन्द्रीय सचिव प्रियासन

दाङ, १३ वैशाख । तेजनेपाल

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकार सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताउनु भएकाे छ । बुधबार दाङ-देउखुरीको राप्ती गाउँपालिका-२, हर्षेडाँडा पार्क लालमटियामा राप्ती प्रेस मञ्चले आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले विगतमा पत्रकार महासंघकाे सदस्यता वितरणमा विभेद भएको सन्दर्भ सुनाउँदै अहिलेको नेतृत्वले निष्पक्ष ढंगले क्रियाशील पत्रकारलाई प्राथमिकतामा राख्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,’अब पत्रकार सदस्यता विचार, आस्था वा व्यक्तिगत रिसिभावका आधारमा होइन,क्रियाशीलताका आधारमा वितरण गर्छौ।’

त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शमाले सञ्चारमाध्यम सशक्त नहुँदासम्म पत्रकारिता बलियो नहुने बताउनुभयाे। उहाँले विधागत लेखनमा ध्यान दिन पत्रकारहरूलाई आग्रह गर्नुभयाे । त्यस्तै नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले खोजी पत्रकारिता अझै पनि ओझेलमा परेको उल्लेख गर्दै त्यसतर्फ पत्रकारहरूलाई सक्रिय बन्न आह्वान गर्नुभयाे।

मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षतामा भएको  कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज टिकाबहादुर बस्नेत, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सदस्यद्धय नवराज शर्मा, शान्ता खनाल, नागरिक समाज देउखुरीका पूर्व संयोजक दामोदर भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रिय सदस्य डिलाराम पौडेल, थारु साहित्य संस्कृति प्रतिष्ठानका केन्द्रिय अध्यक्ष छविलाल कोपिला, नेपाल पत्रकार महासंघ दाङका सदस्य टेकबहादुर पुन, कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जोहोरमान मियाँ, अग्रज पत्रकार धर्मराज शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा मञ्चका प्रमुख संरक्षक महेश रिजालले कार्यपत्र प्रस्तुत गर्नु भएकाे थियाे । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएकाे थियाे ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *