
काठमाडौँ, २६ चैत । तेजनेपाल
हालै मलेसियामा सम्पन्न भएको १६ औँ विश्व योगासन प्रतियोगिताको दुई उपाधी टोखास्थित एशिया प्यासिफिक स्कुलका छात्रहरुले हात पारेका छन् ।

अन्तराष्ट्रिय योग खेलकुद महासंघको आयोजनामा मलेसियाको साइबरजया स्थित लिम्कोकविङ विश्वविद्यालयमा अप्रिल ५ र ६ मा सञ्चालन भएको उक्त प्रतियोगितामा पुरुषतर्फ ९ देखि ११ वर्ष उमेर समूहका प्रयासजंग चौहान प्रथम र १२ देखि १४ वर्ष उमेर समूहका बबिन श्रेष्ठ पाँचौ भएका छन् ।

टोखा नगरपालिकाको प्रतिनिधित्व गदै प्रतियोगितामा सहभागी भएका चौहान र श्रेष्ठले ४० देशका खेलाडीलाई पछि पार्दै प्रथम र पाँचौ स्थान हाँसिल गर्न सफल भएका हुन् ।

स्कुलका सञ्चालक एवम् शिक्षक राजन अधिकारीले खेलाडीहरुको समर्पण र अथक मेहनतका कारण स्कुलले अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधी जितेर विद्यालयको नाम अन्तर्राष्ट्रिय स्तरमा राख्न सकेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

प्रतियोगितामा नेपालभरका ३० विद्यार्थीहरु सहभागी रहेका थिए । यस्तै, अमेरिका, भारत, मलेसिया सहित ४० देशका खेलाडीहरु प्रतियोगितामा प्रतिष्पर्धामा रहेका थिए ।