काठमाडौं । तेज नेपाल
भारत–नेपाल मैत्री तथा मानवीय सहयोगको भावना बोकेको भारत–नेपाल मैत्री समूह (India–Nepal Friendship Group)ले नुवाकोटका बाढी प्रभावित क्षेत्रमा राहत तथा सहयोग वितरण गरेको छ।
समूहका तर्फबाट भारतीय फिल्म निर्माता अमोल भगतको नेतृत्वमा नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी प्रभावित परिवारसँग भेटघाट गरिएको हो। सो क्रममा नेपालका माननीय सांसद खेमराज कोइराला र माननीय सांसद जगत जोशीसँगै प्रभावित परिवारका समस्या तथा आवश्यकताबारे जानकारी लिइएको थियो।
मानवीय सहयोगअन्तर्गत बाढीबाट प्रभावित तथा आवश्यकतामा रहेका परिवारलाई खाद्यान्न (रासन) तथा कपडा वितरण गरिएको समूहले जनाएको छ।
सहयोग कार्यक्रममा भारत–नेपालबीचको ऐतिहासिक मैत्री, आपसी सद्भाव र मानवीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य रहेको बताइएको छ।
अमोल भगतले कठिन परिस्थितिमा रहेका नेपाली परिवारसम्म सम्भव भएसम्म सहयोग पुर्याउने प्रयास निरन्तर रहने बताउँदै “मानवता नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनाका साथ सेवा कार्यलाई अघि बढाइने उल्लेख गरे।
भारत–नेपाल मैत्री समूह (India–Nepal Friendship Group) ले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् प्रभावित तथा असहाय परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
