तेजनेपाल /काठमाडौं, असार १७

फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा फ्रान्सले स्विडेनमाथि ३–० को प्रभावशाली जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

पहिलो हाफको इन्जुरी समयमा किलियन एम्बाप्पेले ओस्मान डेम्बेलेको उत्कृष्ट पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। दोस्रो हाफको ५३औँ मिनेटमा ब्राड्ली बारकोलाले माइकल ओलिसेको असिस्टमा गोल थपेपछि फ्रान्स २–० ले अघि बढ्यो। त्यसपछि ७४औँ मिनेटमा फेरि एम्बाप्पेले ओलिसेको पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

यस जितसँगै एम्बाप्पेले प्रतियोगितामा आफ्नो गोल संख्या ६ पुर्‍याउँदै गोल्डेन बुटको दौडलाई थप रोमाञ्चक बनाएका छन्। साथै विश्वकप फाइनल चरणमा उनको कुल गोल संख्या १८ पुगेको छ, जुन ऐतिहासिक कीर्तिमानको निकै नजिक हो।

अब फ्रान्सले राउण्ड अफ १६ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ। उपाधि दाबेदार मानिएको फ्रान्सले यस प्रदर्शनसँगै आफ्नो बलियो दाबेदारी फेरि एकपटक प्रमाणित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *