भक्तपुर, मंसिर ८। तेज नेपाल

सूर्यविनायक नगरपालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ को उद्घाटन समारोह भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहको सभापतित्व नगर प्रवक्ता रविन्द्र सापकोटाले गर्नुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको विशेष आतिथ्यता रहेको थियो।

त्यसैगरी, कार्यक्रममा खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापा, खेलकुदसँग सम्बन्धित रेफ्री तथा प्रशिक्षक, विभिन्न वडाका वडाध्यक्ष, विद्यालयका प्रतिनिधि, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

मंसिर ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयबाट ७०० भन्दा बढी विद्यार्थीहरूले विभिन्न खेल विधामा सहभागिता जनाएको सुर्यविनायक नगरपालिकाका नगर खेलकुद सदस्य दिपक थापाले जानकारी गराउनु भयो।

उद्घाटन समारोहमा स्काउट मार्चपास प्रतियोगितासमेत प्रस्तुत गरिएको थियो। सोही अवसरमा मार्चपास प्रतियोगिताको नतिजासमेत सार्वजनिक गरिएको थियो। जसमा मनोरम बोर्डिङ्ग इङ्ग्लिस स्कुल प्रथम, मोर्डन बोर्डिङ्ग इङ्ग्लिस स्कुल द्वितीय र सुवेश्वर आधारभुत विधालयले तृतीय स्थान हासिक गरेको थियो । प्रतियोगिताको पुरस्कार राशी क्रमश ८ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र विजेताहरूलाई समापन समारोहका दिन पुरस्कार वितरण गरिने जानकारी नगर प्रवक्ता रविन्द्र सापकोटाले दिनुभएको थियो।

प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै प्रतिभा पहिचान, अनुशासन, आपसी सद्भाव र खेलभावनाको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *