काठमाडौं, ज्येष्ठ १२ । तेज नेपाल
नेपाली गीत संगीत बजारमा आजभोली फरक स्वादका गीतहरू बजारमा ल्याउने होडबाजी चलिरहेको छ । नयाँ प्रयोग फरक किसिमको गीत संगीत बनाउने दौडमा हालै गायक, गायिका, संगीतकार,गीतकार लागि परेका छन । यसै क्रममा गायक श्याम प्रसाद सुवेदीले पनि केही फरक र नयां प्रयोग सहित हालै नेपाली र भोजपुरी भाषाको सुन्दर संगममा तयार गरिएको गीत ‘आधा नेपाली आधा भोजपुरी’ बोल रहेको म्युजिक भिडियो सार्वजनिक गरेका छन । गीत कति चल्ने र यससंगै भिडियोले कति चर्चा कमाउने हो त्यो त हेर्न बाँकी नै छ ।
तृष्णा फिल्मस् नेपालको प्रस्तुतिमा निर्माण गरिएको उक्त गीतमा शब्द, संगीत तथा स्वर स्वयं गायक सुवेदीकै रहेको छ। नेपालीपन र भोजपुरी संस्कृतिबीचको आत्मीय सम्बन्धलाई संगीतमार्फत प्रस्तुत गरिएको गीतले भाषाको सीमाभन्दा माथि उठेर भावनात्मक सम्बन्ध स्थापित गर्ने प्रयास गरेको देखिन्छ। संगीत संयोजन सन्तोष प्रगाढले गरेका छन्, जसले गीतलाई आधुनिक र सुगम शैलीमा सजाएको छ ।
बारा जिल्लाको रमणीय कोल्बी बजार तथा आसपासका आकर्षक स्थानमा छायांकन गरिएको भिडियोले ग्रामीण सौन्दर्य, संस्कृति र प्रेमिल भावनालाई जीवन्त बनाएको छ। निर्देशक कृष्ण राजभण्डारी(एसक्यू)को निर्देशनमा तयार पारिएको भिडियोमा मोडल अग्नि राना मगर र दिब्या बयलकोटीको अभिनय र नृत्यले भिडियालाई अझै विशेष आकर्षण थपिदिएको छ। भिडियो ओएसआर डिजिटलको युट्युब पेल्ट्फार्म मार्फर हेर्न सकिन्छ ।
यसैबीच, गीतको लोकार्पण समारोह सोमबार काठमाडौंस्थित सिन्की भान्छा घरमा सम्पन्न भएको छ। कार्यक्रममा सर्जक विजेन्द्र नौबागे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। पत्रकार डीबी पराजुली, विनोद नेपाली, गायक संगीतकार तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ, कलाकार बिरेन्द्र नौभाग्य, मोडल धिरज खत्री, नायक सैलेश पहरी, गायिका श्रद्धा दियाली, बिमला परियार, व्यवसायी मिनबहादुर पहरी तथा मोडल अशोक कोइरालालगायत कला र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले दुई भाषाको संयोजनमा तयार भएको गीतले नेपाली संगीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै नेपाल र भोजपुरी भाषी समुदायबीचको सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बन्ने अपेक्षा गरेका थिए।






