भक्तपुर, २५ असोज । तेज नेपाल

भक्तपुरको सूर्यविनायक नगरपालिकामा अन्तरवडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। वडा नं. १०, चित्तापोलस्थित खेलमैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेल वडा नं. २ र ८ बीच भएको छ। नगर खेलकुद विकास समितिका अनुसार प्रतियोगिता असोज ३० गते सम्पन्न हुनेछ।

वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन नगरप्रमुख बासुदेव थापाले गर्नुभएको हो। कार्यक्रममा उपप्रमुख सरिता भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडाध्यक्षहरू, नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायत, खेलकुदप्रेमीहरूको  बाक्लै उपस्थिति रहेको थियो।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार र तृतीय हुने टोलीले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। चौथो हुने टोलीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट गोलकिपर, गोलकर्ता र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीको पहुँच स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो। खेलकुद जीवनका लागि मात्र नभई सामाजिक परिवर्तन, स्वास्थ्य, आर्थिक समृद्धि र स्थानीय पहिचान स्थापनाका लागि पनि महत्त्वपूर्ण रहेको नगरप्रमुख थापाले बताउनुभयो।

खेलकुद विकासका लागि आवश्यक भौतिक संरचना निर्माण भइरहेको उल्लेख गर्दै नगरप्रमुख थापाले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *