काठमाडौ, साउन ३१ । तेज नेपाल

काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पाँचौँ दिनमै आयोजकले राखेको अवलोकनकर्ताको लक्ष्य पूरा भएको छ। साउन २६ गतेदेखि सुरु भएको ६ दिने एक्स्पोको पाँचौँ दिन शनिबार मात्रै ४२ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।

शनिबारको भीडसँगै पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या १ लाख ५० हजार नाघेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ। नाइमाले यसअघि ६ दिनमा डेढ लाख दर्शकले एक्स्पो अवलोकन गर्ने लक्ष्य राखेको थियो।

शनिबार दर्शकको अप्रत्याशित भीड बढेपछि भृकुटीमण्डप क्षेत्रमा पार्किङ व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको थियो। भृकुटीमण्डप परिसरका खाली स्थानसँगै नेपाल पुलिस क्लबका दुई तला र खाद्य गोदाम ग्राउन्डमा समेत पार्किङ व्यवस्थापन गरिएको थियो। लगातार भइरहेको भारी वर्षाका बाबजुद पनि दर्शकको उत्साहमा कमी देखिएन।

अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पोमा दर्शकको उल्लेख्य सहभागिताले आफूहरू उत्साहित भएको बताए। उनका अनुसार अन्तिम दिन कुर्नै नपरी आयोजकले आफ्नो लक्ष्य पूरा गरिसकेको छ।

एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढी दर्शकले एक्स्पो अवलोकन गरेका थिए।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै आफ्ना स्टलमा दर्शकलाई आकर्षित गरिरहेका छन्। चारपाङ्ग्रे सवारीसँगै दुईपाङ्ग्रे सवारीका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले दर्शकको व्यापक उपस्थितिले एक्स्पोलाई सफल बनाएको बताइन्। त्यस्तै, पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले ठूलो संख्यामा दर्शक आकर्षित गर्न सक्नु नाइमाको सफलताको संकेत भएको धारणा राखे।

एक्स्पोमा विभिन्न ब्रान्ड र मोडलका सवारीसाधन उपलब्ध भएकाले दर्शकलाई आफ्नो आवश्यकता र बजेटअनुसार सवारी छनोट गर्न सहज भएको छ। विशेषगरी महँगा तथा नयाँ प्रविधियुक्त सवारीसाधनप्रति युवाको आकर्षण उल्लेख्य देखिएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आइतबार साउन ३१ गते समापन हुँदैछ। आयोजकले अन्तिम दिन पनि ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *