काठमाडौ, चैत्र १ | तेजनेपाल
उदीयमान अभिनेत्री इश्मिता भुषालले नेपाली टेलिभिजन क्षेत्रमा आफ्नो पहिलो पाइला टेक्दै टेलिभिजन धारावाहिक ‘भरोसा युवामा’ मार्फत डेब्यु गर्न लागेकी छन्। यो श्रृंखला नेपाल टेलिभिजन (एनटिभी) बाट २०२६ मार्च १४ गते साँझ ६:४० बजेदेखि प्रसारण सुरु हुने भएको छ।
रंगमञ्च (थिएटर) बाट अभिनय यात्राको आधार निर्माण गरेकी भुषालले यस धारावाहिकको ‘एजेन्डा’ खण्डमा मुख्य भूमिकामा अभिनय गर्दै टेलिभिजन अभिनयमा प्रवेश गर्न लागेकी हुन्। श्रृंखलाले विशेषगरी कृषि, ग्रामीण जीवन, युवाहरूको भूमिका तथा समाजमा विश्वास र जिम्मेवारीको महत्व जस्ता विषयलाई केन्द्रमा राख्दै कथा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
थिएटरबाट टेलिभिजन अभिनयमा आउँदाको अनुभवबारे बोल्दै भुषालले रंगमञ्च र क्यामेरा अभिनयबीच प्राविधिक तथा प्रस्तुतीकरणका दृष्टिले ठूलो भिन्नता रहेको बताइन्। उनका अनुसार थिएटरमा दर्शकसम्म भावनालाई पुर्याउन ठूलो हाउभाउ र आवाजको प्रयोग गर्नुपर्ने हुन्छ भने टेलिभिजन अभिनयमा क्यामेराको अगाडि सूक्ष्म र सन्तुलित अभिनय आवश्यक हुन्छ। ‘एजेन्डा’ मा मुख्य पात्रको जिम्मेवारी सम्हाल्नु उनका लागि चुनौतीपूर्ण भए पनि उनले त्यसलाई सिकाइको अवसरका रूपमा लिएको बताएकी छन्। पहिलो पटक क्यामेरासामु मुख्य भूमिकामा उभिँदा दबाब भए पनि यो अनुभव निकै उत्साहजनक र सन्तोषजनक रहेको उनले बताइन्।
यसैबीच भुषाल एक नयाँ फिल्म परियोजनामा पनि आबद्ध भएकी छन्, जसको निर्देशन राजेन्द्र महर्जनले गर्दैछन्। फिल्मको छायांकन मदम सुवेदी, ध्वनि संयोजन अजीत महर्जन, तथा कथा लेखन सौरभ मल्लले गरेका छन्। फिल्ममा संगीत अमन मालीको रहेको छ भने गीत सुरेन्द्र राणाका छन्। सहायक निर्देशन अञ्जली महर्जनले सम्हालेकी छन्।
उक्त फिल्ममा भुषाल मुख्य भूमिकामा आकृत दवाडीसँगै देखिनेछिन् भने कलाकारहरू गणेश बखती, मनिष पुडासैनी, एलिशा दाहल र युन्चो लिम्बू लगायतका कलाकारहरूको पनि सहभागिता रहनेछ। टेलिभिजन डेब्यु र नयाँ फिल्म परियोजनासँगै भुषाल नेपाली टेलिभिजन र चलचित्र क्षेत्रमा सम्भावनाशील नयाँ अनुहारका रूपमा अघि बढिरहेकी छन्।







