काठमाडौ, चैत्र १४ । तेज नेपाल
चर्चित गायिका तथा पूर्वसांसद कोमल वलीलाई पितृ शोक परेको छ । उनका पिता ललित बहादुर वली शुक्रबार तुलसीपुर स्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर ८५ वर्षीय वलीको दुःखद निधन भएको हो।
गायिका वलीले सामाजिक सञ्जालमार्फत बुवाको ‘महाप्रस्थान’ भएको जानकारी दिएकी छन्। उनका अनुसार पार्थिव शरीरलाई अन्तिम दर्शन तथा श्रद्धाञ्जलीका लागि तुलसीपुरस्थित बाहिनी गेट नजिकै रहेको निजी निवास ‘दिपा–ललित निवास’मा राखिएको छ।
स्वर्गीय ललितबहादुर वली दाङको साहित्यिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व थिए। वि.सं. १९९८ मंसिर १५ गते जन्मिएका उनले ‘दर्पण’ (राष्ट्रिय गीत सङ्ग्रह) र ‘मातृभूमि’ (कविता सङ्ग्रह) जस्ता कृति प्रकाशन गरेका थिए।
उनका सातवटा गीतहरू रेडियो नेपाल मा रेकर्ड भएका छन्, जसमा देउसी–भैलो, तीज तथा भजन समावेश छन्। साथै, उनी छोरी कोमल वलीका धेरै गीतहरूमा मोडलिङ समेत गरेका थिए र आफैँ पनि कुशल गायक थिए।
ललित वली दाङका विभिन्न सामाजिक तथा साहित्यिक संस्थाहरूमा आवद्ध थिए। उनी दाङ ज्येष्ठ नागरिक जिल्ला सङ्घ, दाङ साहित्य प्रतिष्ठान, सङ्गीत नाट्य प्रतिष्ठान तथा पृथ्वीनारायण शाह प्रतिष्ठान तुलसीपुरका सदस्य थिए। ज्येष्ठ नागरिकहरूको सेवामा समर्पित उनको सम्मानमा परिवारले ‘ज्येष्ठ नागरिक प्रतिष्ठान’ समेत स्थापना गरेको छ।
शारीरिक रूपमा गम्भीर रोग नभए पनि उमेरका कारण केही कमजोर रहेका वली केही समयअघि पत्नीको निधनपछि मानसिक रूपमा समेत प्रभावित भएको पारिवारिक स्रोतले जनाएको छ।






