काठमाडौं, कर्तिक १ । तेज नेपाल

थाइल्यान्डमा सम्पन्न ‘मिसेस एसिया इन्टरनेशनल २०२६’ मा नेपाली प्रतिनिधिहरूले विभिन्न प्रतिष्ठित उपाधि जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका छन्। सामरी इन्टरनेशनल इभेन्ट प्रा.लि.को प्रतिनिधित्व गर्दै सहभागी तीन नेपाली महिलाले विभिन्न विधामा सफलता हासिल गरेका हुन्।
प्रतियोगितामा सुमित्रा श्रेष्ठ (रोजी) ले क्लासिक मिसेस एसिया इन्टरनेशनल २०२६ अन्तर्गत फ्रेन्डसिप विनर, मिसेस ट्यालेन्ट क्विन र मिसेस कन्फिडेन्स गरी तीन उपाधि हात पारिन्। त्यस्तै, गंगा न्यौपाने राउत ले मिसेस एलिगेन्स तथा कल्पना प्रसाईं (कामना) ले मिसेस रेजिलियन्सको उपाधि जित्न सफल भए।
यसैबीच, सामरी इन्टरनेशनल इभेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा नेपालका नेशनल डाइरेक्टर भरत सामरी ‘नेपाल्स बेस्ट नेशनल डाइरेक्टर अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।
सामरीले मिसेस एसिया इन्टरनेशनलको निर्णायक मण्डलमा समेत स्थान पाएका थिए। आयोजक पक्षका अनुसार उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने उनी पहिलो नेपाली हुन्।
नेपाली प्रतियोगीहरूको सफलता र सामरीको अन्तर्राष्ट्रिय उपलब्धिलाई महिला सशक्तीकरण, नेतृत्व क्षमता तथा विश्वमञ्चमा नेपालको बढ्दो उपस्थितिको महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
तीन नेपाली विजेता, विभिन्न अन्तर्राष्ट्रिय उपाधि र नेशनल डाइरेक्टरको ऐतिहासिक सम्मानसँगै मिसेस एसिया इन्टरनेशनल २०२६ नेपालका लागि स्मरणीय बनेको छ।
